चिनियाँ राष्ट्रपतिको अमेरिका यात्राः यस्तो छ बाइडेनसँग वार्ताका एजेण्डा
चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार चीन–अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन्। चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन्।
भेटका क्रममा राष्ट्रपति सी र अमेरिकी समकक्षी जो बाइडेनबीच पनि भेटवार्ता हुने बुझिएको छ। दुई देशबीचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबीच भेट गराउन लागिएको समाचार एजेन्सीहरूले बताएका छन्।
दुई महाशक्तिबीचको सम्बन्ध स्थिर पार्ने प्रयासमा बुधबार सान फ्रान्सिस्कोमा अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भेट हुँदैछ। त्यसबेला जो बाइडेन र सी चिनफिङले ताइवान मामिलामा खुलस्त कुराकानी गर्ने अपेक्षा गरिएको छ।
बालीमा जी २० सम्मेलनमा भेट भएको एक वर्षपछि बाइडेन र सीबीच पुनः द्विपक्षीय वार्ता हुन लागेको हो। गत एक वर्षमा द्विपक्षीय सम्बन्धमा आएको चर्को तनावलाई रोक्ने प्रयास उनीहरुले गर्नेछन्।
यद्यपि, राष्ट्रपतिद्वयको भेटवार्तामा ठूला सम्झौता नहुन अमेरिकी अधिकारीहरुले बताएका छन्।
‘हामी उपलब्धिहरुको लामो सूचीको कुरा गरिरहेका छैनौँ,’ एक अमेरिकी अधिकारीले भने, ‘हाम्रो लक्ष्य भनेको प्रतिस्पर्धा व्यवस्थापन गर्नु, द्वन्द्वको खतरा टार्नु र संवादका मार्गहरु खुला राख्नु हो।’
अर्को वर्ष अमेरिका र ताइवाद दुवैमा चुनाव हुँदैछ। यसले अमेरिका–चीन सम्बन्धमा बखेडा झिक्नसक्ने आशंका बढेको छ।
अगस्टसम्म अमेरिकी विदेश मन्त्रालयमा चीन मामिला हेर्ने शीर्ष अधिकारी रहेका रिक वाटर्स दुवै नेता सम्बन्ध थप ओरालो नलागोस् भन्ने चाहन्छन्।
‘प्रश्न के हो भने ताइवान, प्रविधिसम्बन्धी नीति र अन्य आधारभूत रुपमै प्रतिस्पर्धात्मक सम्बन्धमा उनीहरुले द्विपक्षीय सम्बन्धलाई कति स्थिरता दिन सक्छन्?’ अहिले युरेसिया ग्रुप नामक कन्सल्टेन्सीका प्रबन्ध निर्देशक वाटर्स भन्छन्।
बाइडेन र सीले भेटपछि संयुक्त वक्तव्य जारी नगर्ने ह्वाइट हाउसले जनाएको छ। त्यस्तै, बैठकपछि उनीहरुबीच साथै रात्रीभोज पनि नहुने बताइएको छ। सीले अमेरिकी व्यवसायीहरुसँग भने भोज गर्नेछन्।
दोभोषेसहितको वार्ता करिब ४ घण्टाभन्दा बढी समय चल्ने बताइएको छ।
वार्तामा सीले चीनका लागि ताइवान कति महत्वपूर्ण छ भनेर कडा चेतावनीसहित स्पष्ट कुरा राख्ने सीएसआईएस थिंक ट्यांककी चीन विज्ञ जुड ब्लान्चेटले बताइन्।