
लक्ष्मीपूजामा यस्ता देखिए काठमाडौं लगायतका सहर, विद्युत भारत निर्यात (फोटो)
दिपावली अर्थात् उज्यालोले भरिएको खुशियालीयूक्त चाड तिहार, एउटा विशेष उर्जासहितको उमङ्गमय चाड।
हिँउदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तिहरुको चाडका रुपमा पनि परिचित छ। आइतबार राति लक्ष्मी पूजाको दिन झिलीमिली बत्तिले घरहरु दुलही झैं चिटिक्क सिंगारिएका थिए।
तिहार सुरु भएसँगै काठमाडौं सिँगारिएको छ । लक्ष्मीपूजाको साँझ काठमाडौं झलमल देखिएको थियो ।
घरघरमा मालाबत्तीसहित दियो बालिँदा काठमाडौं झलमल देखिएको छ । आइतबार धार्मिक परम्पराअनुसार घरघरमा लक्ष्मीको पूजा गरिएको छ ।
काठमाडौंका सडकसँगै घर एवं व्यावसायिक घराना समेत झिलिमिली पारिएका छन्। तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पार्ने प्रचलन रहीआएको छ।
साँझमा बालिएका बत्तिहरुले अँध्यारोमाथी उज्यालोको उत्सर्ग, अज्ञानतामाथी ज्ञानको प्रवाह र अविभाजित मानव अस्तित्वको अजम्बरी अनुभूति प्रदान गर्दछ। कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ।
यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्न घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ। कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश यो पर्वले दिने विश्वास गरिन्छ।
विद्युत बढी भएर भारत निर्यात
यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) एकहजार ४३८ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मी पूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमान्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर एकहजार ४३८ मेगावाट पुगेको रेकर्ड गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड एकहजार ३०५ मेगावाट थियो ।
तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहकबाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमान्ड एकहजार ३५७ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो ।
प्राधिरकरणले लक्ष्मी पूजाको दिनको पिक डिमान्ड देशभित्रैका विद्युत्गृहहरूबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग एकहजार ९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमान्ड एकहजार ७११ मेगावाट थियो ।
यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमान्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो ।
