सुन्दरबजारमा सुकुम्बासीले पाए लालपुर्जा

मूलखबर संवाददाता
लमजुङ, २४ कात्तिक

लमजुङकाे सुन्दरबजार नगरपालिकामा रहेका भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण शुरू गरिएको छ ।

प्रतिनिधिसभा सदस्य उर्मिला माझी पाैडेलले भुमिहिन सुकुम्बासी नागरिकलाई जग्गा उपलब्ध गराउने काम सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङकाे आयाेजनामा सुन्दरबजार नगरपालिकामा रहेका सुकुम्बासीलाई जग्गाकाे लालपुर्जा वितरण कार्यक्रममा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रकि केन्द्रीय सदस्य समेत रहेकी उहाँलेे साे बताउनुभएकाे हाे ।

उहाँले लमजुङमा सुकुम्बासी भन्दा अव्यवस्थित वसाेवासकाे समस्या जटिल भएको बताउँदै त्यसकाे समाधानका लागि पनि आयाेगले गम्भीर पहल गर्न जरुरी रहेको बताउनुभयो ।

जिल्लामा २५३ सुकुम्बासी र १२ सय बढि अव्यवस्थित बसाेवासकाे समस्या देखिएकाे उहाँले बताउनुभयो । उहाँले सरकारले भ्रष्टाचार विरूद्व र सुशासनको पक्षमा सम्झौताहिन संघर्ष गरिरहेकाे र त्यसमा सबैले साथ दिन अपिल पनि गर्नुभयाे । 

राष्ट्रिय भूमी आयोग जिल्ला समिति लमजुङले हालसम्म विभिन्न ६ वटा पालिकामा निस्सा वितरण गरेको छ ।

राष्ट्रिय भूमी आयोग जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीले जिल्ला समितिले हालसम्म सुन्दरबजार नगरपालिका, राइनाश नगरपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका, मध्यनेपाल नगरपालिका र दुधपोखरी गाउँपालिकामा निस्सा वितरण कार्य सकिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा  राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङले सुन्दरबजार नगरपालिका भित्र बसोबास गर्ने भूमिहीन दलित ७ र भूमिहीन सुकुम्बासीहरु २४ जना गरि ३१ जनाका निम्ति लालपूर्जा तयार गरेकोमा २३ जनालाई मात्रै आज वितरण गरिएको हाे ।

उहाँका अनुसार सुन्दरबजार नगरपालिका वडा नं. ६ मा बसोबास गर्ने २ जना भूमिहीन र वडा नं. ७ मा बसोबास गर्ने १६ जना भूमिहीनहरुलाई सुन्दरबजार नगरपालिका वडा नं. ७ टुनिपाटोमा १३० बर्गमिटरका दरले र सुन्दरबजार नगरपालिका वडा नं. ९ मा बसोबास गर्ने १५ जना भूमिहीनहरुलाई सुन्दरबजार नगरपालिका वडा नं. ८ पिपलपाटामा १५८.९ बर्गमिटरका दरले जग्गा ब्यबस्था गरिएको छ ।
यस्तै, सुन्दरबजार नगरपालिका वडा नं. ९ मा बसोबास गर्ने १ जना भूमिहीन निवेदक बैदेशिक रोजगारिमा रहेको र नीजकोे नाममा फिल्ड बुक श्रेष्ता तयार भएपनि पूर्जा वितरण प्रक्रिया स्थगित भएको उहाँले बताउनुभयो ।
यस्तै, उहाँले सुन्दरबजार नगरपालिका वडा नं. ३ चन्द्रेश्वरमा बसोबास गर्ने २ जना, वडा नं. ४ दुराडाँडामा बसोबास गर्ने १ जना र सुन्दरबजार नगरपालिका वडा नं. ७ सुन्दरबजारमा बसोबास गर्ने ७ जना, वडा नं. ११ सिन्दुरेमा बसोबास गर्ने ४ जना गरि जम्मा १४ जना भूमिहीनहरु प्रामाणित गरिसकिएको, उपयुक्त जग्गा ब्यबस्था गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भुमि आयाेगका अध्यक्ष केशव निराैला प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियाे भने प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नगर प्रमुख कृष्ण काेइराला, भुमि आयाेगका सदस्यहरू, वडाधध्यक्षहरू र भुमिहिन सुकुम्बासीका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा स्वागत भाषण सदस्य शाेभा थापाले गर्नुभएको थियाे भने सञ्चालन विज्ञ सदस्य ऋषिकेश अधिकारीले गर्नुभएको थियाे ।