बेल्ट एण्ड रोड फोरमको समीक्षाः माधव नेपालसहितका नेताको सम्बोधन (फोटो फिचर)
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ‘सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रमलाई सम्बोधन गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा मंगलबारदेखि चीन भ्रमणमा रहेका नेता नेपालले खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरुको भेला र अनुभव आदानप्रदान कार्यक्रममा सम्बोधन गरेका हुन्।
‘सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा अध्यक्ष नेपालसहित एसियाका ११९ वटा पार्टीका प्रतिनिधि कुङ्मिङ पुगेका छन्। एकीकृत समाजवादी बाहेक नेपालबाट कांग्रेस र राप्रपासहितका दलका प्रतिनिधि पनि सम्मेलनमा सहभागी छन्।
भ्रमण क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाट समेत भैसकेको छ। बिहीबार कुङ्मिङमा ‘राजनीति दल र कृषि कोअपरेसन’ भन्ने विषयमा चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। उक्त सम्मेलनलाई पनि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सम्बोधन गरेका थिए।
तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर) मा नेपालबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको प्रतिनिधिमण्डल सहभागी भएको थियो। उक्त सम्मेलनको समीक्षा गर्न चिनियाँ कम्युनिष्ट पार्टीले खुन्मिङमा कार्यक्रम गरेको हो।
कार्यक्रममा सहभागिता जनाउन नेपालसहित दक्षिण तथा दक्षिण पूर्वी एसियाका दलका नेता, कार्यकर्ता, सञ्चारकर्मी तथा गैरसरकारी संस्थाका गरी ३०० भन्दा बढी प्रतिनिधि खुन्मिङ पुगेका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको टोली आगामी कात्तिक २८ गते काठमाडौं फर्किनेछ। यसअघि नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चीन भ्रमणमा गएका थिए।
माधव नेपाललाई गठबन्धन सरकारको भावी प्रधानमन्त्रीका रूपमा पनि हेरिएको छ।
यसैबीच, जाजरकोट र रूकुमका भुइँचालो पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरिसकेको छ। नेपाल नेतृत्वको भ्रमण टोलीसँग भएको औपचारिक भेटवार्ता क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले उक्त सहयोग घोषणा गरेका हुन्।
त्यस क्रममा सचिव वाङ निङले असल छिमेकीका हिसाबले नेपाललाई दैवी प्रकोपमा सहयोग गर्न आफूहरू तत्पर रहेको उल्लेख गरेका थिए।
युनान प्रान्तले कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसँग साट्न आफूहरू तयार रहेको पनि उनले बताएका छन्।