आजको मौसमः यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्र

मूलखबर संवाददाता
काठमाडौं

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (शुक्रबार) बिहानसम्म कोशी, गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार शुक्रबार राति देशको सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।