माधव नेपाल चीनमा : युनान प्रान्तले दिने भो ५० हजार डलर

मूलखबर संवाददाता
कुन्मिङ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल मंगलबारदेखि चीन भ्रमणमा छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा नेपाल नेतृत्वको १५ सदस्यीय टोली चीन भ्रमणमा निस्किएको हो।

नेता नेपाल खुनमिङमा दक्षिण र दक्षिण एसियाली पार्टीहरुको भेला र अनुभव आदानप्रदान कार्यक्रम तय भएको छ। ‘सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा अध्यक्ष नेपालसहित सहभागी हुनेछन्।

यसैबीच, जाजरकोट र रूकुमका भुइँचालो पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ।

माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँग भएको औपचारिक भेटवार्ता क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले उक्त सहयोग घोषणा गरेका हुन्। त्यस क्रममा सचिव वाङ निङले असल छिमेकीका हिसाबले नेपाललाई दैवी प्रकोपमा सहयोग गर्न आफूहरू तत्पर रहेको उल्लेख गरे। युनान प्रान्तले कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसँग साट्न आफूहरू तयार रहेको पनि उनले बताए।

अध्यक्ष नेपालले सहयोगका लागि धन्यवाद दिँदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपालले सदुपयोग गर्ने प्रतिबद्धता जनाए।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको आमन्त्रणमा अध्यक्ष नेपाल, उपाध्यक्षसमेत रहेका कृषिमन्त्री वेदुराम भुसालसहितको १५ सदस्यीय टोली साताव्यापी चीन भ्रमणमा छ। एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीलाई चीनले पहिलोपटक औपचारिक आमन्त्रण गरेको हो।

भ्रमण क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाटको कार्यक्रम रहेको उपाध्यक्ष भुसालले जानकारी दिए।

‘हाम्रो पार्टीलाई चीनले महत्त्व दिएको पायौं,’ उनले भने, ‘भेटघाट सुरू भएको छ। नेताहरूसँग भेट्ने देश र पार्टी हितका विषय कुरा हुँदैछन्। उहाँहरूको व्यवहारले हामीलाई उत्साहित बनाएको छ।’

बिहीबार कुङ्मिङमा ‘राजनीति दल र कृषि कोअपरेसन’ भन्ने विषयमा चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। उक्त सम्मेलनलाई पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सम्बोधन गर्नेछन्।

सम्मेलनमा भाग लिन एसियाका ११९ वटा पार्टीका प्रतिनिधि कुङ्मिङ पुगेको हो। नेपालबाट कांग्रेस र राप्रपासहितका दलका प्रतिनिधिले पनि सम्मेलनमा सहभागिता जनाउने भएका छन्।

अध्यक्ष नेपालको भ्रमण टोलीमा एकीकृत समाजवादीका १२ जना नेता कार्यकर्ता छन्। यो टोलीमा कोशीदेखि सुदूरपश्चिमसम्मका नेताहरू सहभागी छन्। समाजवादीका अनुसार भ्रमण टोलीमा विद्या चाम्लिङ, शर्मिला पौडेल, सुधीर साह, विष्णु महतो, लोकबहादुर हमाल, अब्दुल हुसेन खान, मोहन गौतम, हर्कबहादुर सिंह, गणेश विक, विष्णु लम्साल, शमशेर लामा र प्रकाश ढकाल छन्।

अध्यक्ष नेपाल खुनमिङबाट बेइजिङ पुगेपछि सीपीसीको उच्च नेतृत्वसँग वार्ता हुनेछ। अध्यक्ष नेपालको टोली आगामी कात्तिक २८ गते काठमाडौं फर्किनेछ। यसअघि नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चीन भ्रमणमा गएका थिए।