यसरी फैलिन सक्छ पश्चिम एसियामा युद्धको ज्वाला

मूलखबर संवाददाता
काठमाडौं

गिडियन राकमन

जर्मनी र रुसका सम्राटको संवादले रोक्न सकेन प्रथम विश्वयुद्ध, साउदी र इरानको वार्ताले रोकिएला?

पहिलो विश्वयुद्धको सुरुवातलाई लिएर इतिहासकारहरु अझै पनि चकित पर्ने गर्छन्। जुन १९१४ मा साराएभोमा एक जना अस्ट्रियन आर्कड्युकको हत्याले केही हप्तामै कसरी त्यत्रो युद्ध सुरु गर्न सक्छ? जसमा युरोपका हरेक प्रमुख शक्ति र अन्ततः अमेरिका पनि सामेल भयो।


यो प्रश्न खासगरी हैरान बनाउनेखालको छ। किनभने युद्धमा सामेल मुलुकका थुप्रै नेताहरुले युरोपव्यापी युद्ध टार्न निकै ठूलो प्रयास गरेका थिए। युद्ध सुरु हुनुअघिको महिना दिन लामो तनावलाई कम गर्ने कोसिसमा जर्मनी र रुसका सम्राटहरुले अनेकौ सन्देश आदानप्रदान गरेका थिए।

तर, उनीहरु असफल भएनन्।

त्यस्तै खालको तनाव नचाहँदानचाहँदै अहिले पश्चिम युरोप (मध्यपूर्व) मा बढिरहेको छ। गाजामा जारी लडाइँ यति भयानक छ कि धेरैको ध्यान अहिले त्यहीँको लडाइँमा मात्र केन्द्रित छ। तर, पश्चिमा नीतिनिर्माताहरुको ध्यान भने विस्तृत क्षेत्रमा फैलिएको छ। खासगरी मध्यपूर्वव्यापी युद्धको खतरामा। जुन युद्धमा इरान, अमेरिका मात्र होइन, साउदी अरब पनि तानिने सम्भावना छ।

बाइडेन प्रशासनका लागि मध्यपूर्वव्यापी युद्धको खतरा यो समग्र संकटको सबैभन्दा ठूलो चुनौती बनेको छ। वासिङ्टनका एक भित्रिया भन्छन्, ‘सबै मुलुकको आआफ्नै थ्रेसहोल्ड छन्। ती थ्रेसहोल्ड पार भए कदम चाल्नैपर्ने उनीहरुको विश्वास छ। तर, कुनै पनि मुलुकलाई अर्को पक्षको थ्रेसहोल्ड के हो भन्ने थाहा छैन।’

गत सप्ताहन्तमा इरानले स्पष्ट धम्की दियो कि उसको थ्रेसहोल्ड पार हुन लाग्दैछ। इरानी राष्ट्रपति इब्राहिम रइसीले एक्समा लेखेका छन्, ‘गाजामा इजरायलको कारबाहीले सीमा नाघेको छ। जसले हरेकलाई कदम चाल्न बाध्य पार्नेछ। वासिङ्टन हामीलाई केही नगर्न भन्छ तर उनीहरु इजरायललाई भने समर्थन गरिरहन्छन्।’

उसोभए, संकट कसरी बढ्दै जाला त? एउटा संकेत गतसाता देखियो। अमेरिकाले सिरियामा इरानसमर्थित मिलिसियामाथि बम बर्सायो। इराक र सिरियामा इरानसमर्थित लडाकुहरुले अमेरिकी सेनामाथि गरेको आक्रमणको बदला लिइएको वासिङ्टनको भनाइ थियो। त्यस्तो आक्रमण जारी रहे र अमेरिकी सैनिक मारिए अमेरिकाको जवाफ झन् उग्र हुनेछ।

लेबनानमा सञ्चालित इरान समर्थित लडाकु समूह हिजबुल्लाहको भूमिका महत्वपूर्ण छ। हिजबुल्लाहले इजरायलमाथिको आक्रमण बढाउन सक्छ। उसँग अचुक निसानामा मार हान्नसक्ने क्षेप्यास्त्रहरु छन्। जसले इजरायलको अधिकांश जनसंख्यालाई सुरुङमा आश्रय लिन बाध्य पार्न सक्छ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले लेबनानी भूमिबाट आफूमाथि आक्रमण भए सो मुलुकको ‘विनाश’ गर्ने धम्की दिएका छन्। तर, हिजबुल्लाहले हार्ने खतरा भए इरानले आफ्नो इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका सैनिकलाई हिजबुल्लाहको सहयोगमा पठाउनेछ। यस्तो अवस्थामा इराजयलले लेबनानका साथै इरानमै पनि इरानी सेनामाथि आक्रमण गर्नसक्छ।

हिजबुल्लाह युद्धमा सहभागी भए इरानका अरु प्रोक्सीहरु पनि लडाइँमा सामेल हुन सक्छन्। तिनले इजरायली र अमेरिकी ठेगानालाई निसाना लगाउन सक्छन्। त्यसपछि इरानले बेलाबखत धम्की दिएझैँ होर्मुज जलसन्धि बन्द गराउन सक्छ। जहाँबाट विश्वको अधिकांश तेल ओसारपसार हुने गर्छ। त्यसले विश्व अर्थतन्त्रलाई डुबाउने छ नै, साउदी अरबमाथि पनि सिधा खतरा उत्पन्न गर्नेछ।

त्यसबेला अमेरिकी नौसेनाले होर्मुज जलसन्धि खुलाउने प्रयास गर्नसक्छ। तर, इरान र उसका प्रोक्सीले त्यसको प्रतिकार गर्नसक्छन्। यो क्षेत्रभरि नै अमेरिकी सैनिक छन्, जो तिनको निसानामा पर्नसक्छन्। बहराइन, यूएई, कतार, सिरिया र इराकमा अमेरिकी सेना छन्।

अमेरिकी खासगरी यमनको हुथी समूहलाई नियालिरहेका छन्। साउदी अरबसँगको क्रुर युद्धमा सो समूहलाई निसाना बनाइएको थियो। हुथी लडाकुहरुले गत साता इजरायलतर्फ रकेट प्रहार गरेका थिए। तिनले विगतमा साउदी तेल प्रशोधन केन्द्रहरुमा आक्रमण पनि गरेका थिए। एकाध सटीक क्षेप्यास्त्रहरुले नै साउदी अरबको राजधानी रियादमा पानी आपूर्ति गर्ने केन्द्र ध्वस्त पार्न सक्छ।

यस्तो खालको द्वन्द्व विस्तार भए त्यो युद्धमा सहभागी हरेकका लागि प्रलयकारी हुनेछ। सबैलाई यो कुरा थाहा छ। तैपनि यस्तो हुनसक्छ। किनभने सबै पक्ष के ठान्छन् भने कुनै खास घटना हुँदा त्यसको प्रतिक्रिया नदिनु उनीहरुका लागि खतरनाक हुनेछ।

निकासको भरपर्दो योजनाबिनै इजरायलले गाजामाथि आक्रमण गरेको छ। किनभने उसले गाजामा निरोधको अवस्था पुनर्स्थापित गर्नैपर्ने महसुस गरेको छ। इरानलाई पनि आफू र आफ्ना सहयोगीको साथ प्यालेस्टाइनीहरुलाई छ भन्ने देखाउनै परेको छ। अमेरिका आफ्ना सैनिकमाथि आक्रमण भए जोडदार जवाफ दिनैपर्छ भन्ने ठान्छ।

तर, सो क्षेत्रमा सबै शक्ति आत्तिएका भने छैनन्। रियादमा गत साता मैले केही उच्च अधिकारीहरुलाई भेटेँ, जो ऐतिहासिक रुपमै अस्थिर क्षेत्रमा यो अर्को एउटा संकट मात्र हो भन्नेमा विश्वस्त छन्। साउदीको महत्वाकांक्षी एजेन्डा भिजन २०३० आफ्नै लयमा अघि बढिरहेको उनीहरुको जोड छ।

तर, सब ठिकठाक छ भन्ठान्ने रियादको भिडले बालुवामा मुन्टो गाडेको छ। मुलुकका शासक युवराज मोहम्मद बिन सलमान क्षेत्रीय युद्धको खतराप्रति निकै चिन्तित छन्। उनका एक विश्वासपात्र भन्छन् ‘इजरायलमाथि दबाब दिन अमेरिकीहरुलाई दबाब दिनु’ सलमानको रणनीति हो। अमेरिकीहरुको आशा चाहिँ के छ भने साउदी, कतार र चीनले समेत इरानलाई सम्झाऊन् र संयम अपनाउन लगाऊन्।

यो संकटले साउदी युवराज र इरानी राष्ट्रपतिबीच अभूतपूर्व संवाद गराइसकेको छ। पहिलो विश्वयुद्धअघि रुसी र जर्मन सम्राटहरुजस्तै इरानी र साउदी नेताहरु विनाशकारी युद्ध टार्न आपसी बातचितका लागि तयार छन्। तर, १९१४ मा त्यो सफल भएन। आशा गरौँ, यसपटक सफल हुनेछ।

(फाइनान्सियल टाइम्सबाट)