विश्वकपमा भारतको सनसनी, श्रीलंकालाई ५५ मै आउट गर्दै सेमिफाइनलमा

मूलखबर संवाददाता
काठमाडौं

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ। भारतले बिहीबार मुम्बईमा भएको खेलमा श्रीलंकामाथि ३०२ रनको विशाल जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। यो रनको आधारमा विश्वकपको सबैभन्दा ठूलो जित हो।

अन्तिम तीन खेल बाँकी रहदै अन्तिम चारमा पुगेको शीर्ष स्थानको भारतको ७ खेलबाट १४ अंक भएको छ।

भारतले दिएको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमै अलआउट भयो। श्रीलंकाका लागि एन्जेलो म्याथ्युज र महीश तक्षणाले १२-१२ रन तथा कसुन रन्थिता १४ रन जोडेका थिए।

श्रीलंकाका अरु ८ ब्याटर भारतीय बलरसामू चल्न नसक्दा दोहोरो अंकमा रन नबनाइ आउट भए। बलिङमा भारतका मोहमद सामीले ५ विकेट लिए। उनले ५ ओभरमा १ मेडन राख्दा १८ रन खर्चिए। मोहमद सिराजले ३ विकेट लिए भने जसप्रति बुमराह र रविन्द्र जडेजाले १-१ विकेट हात पारे।

त्यसअघि टस जितेको श्रीलंकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा ३५७ रन जोड्यो। उसका लागि शुभमन गिलले ९२ रन जोडे।

विराट कोहलीले ८८ रनको योगदान गरे भने श्रेयस अय्यरले ८२ रन बनाए। बलिङमा श्रीलंकाका दिलशान मुधुशंकाले ५ विकेट लिएका थिए। उनले १० ओभरमा ८० रन खर्चिए।

तालिकामा १२ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।