
आज चियापान गर्दै एमाले, माधव नेपाललाई पनि निम्तो
नेकपा (एमाले)ले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज गर्दै छ ।
कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको एमालेले जनाएको छ ।
चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ ।
एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो । तर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले आज चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।
यसैबीच, एमालेले चियापानमा नेकपा एकीकृत समाजवादीका नेताहरूलाई पनि निमन्त्रणा दिइएको छ।
एमाले प्रचार विभागका अनुसार चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल लगायत नेतालाई निमन्त्रणा पठाइएको हो।
