विश्वकप क्रिकेटः भारतको विजयी यात्रा जारी, इङ्ल्याण्ड हार्‍यो

मूलखबर संवाददाता
काठमाडौं

घरेलु मैदानमा आईसीसी एकदिवसीय विश्वकपमा भारतले लगातार छैटौँ जित निकालेको छ । आइतबार लखनउस्थित एकाना क्रिकेट रंगशालामा भएको खेलमा भारतले साविक विजेता इंग्ल्यान्डविरुद्ध १०० रनको फराकिलो जित निकालेको हो ।

भारतविरुद्ध ब्याटिङमा निरिह देखिएका इंग्ल्यान्डका लियम लिभिङस्टोनले २७ रन बनाए । डेविड विली र डेविड मलानले समान १६ रन जोड्दा मोइन अलीले १५ रन थपे ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका मोहम्मद सामीले चार विकेट लिए । सात ओभर बलिङ गरेका सामीले दुई मेडन राख्दै २२ रन खर्चिए । जसप्रित बुमराहले तीन विकेट लिए । कुलदीप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२९ रनको योगफल खडा गरेको थियो ।

भारतका कप्तान रोहित शर्माले १०१ बलमा १० चौका र तीन छक्कासहित ८७ रन बनाए । ४०–३ को कठिन अवस्थामा रहँदा चौथो विकेटका लागि केएल राहुलसँग ९१ रनको साझेदारी गर्दै रोहितले भारतको इनिङ सम्हालेका थिए । राहुलले ३९ रन थपे । यस्तै, सुर्यकुमार यादवले ४९ रन बनाएपछि भारत सम्मानजनक योगफलसम्म पुगेको हो । जसप्रित बुमराहले १६ रन थपे ।

इंल्यान्डका डेविड विलीले तीन विकेट लिए । १० ओभर बलिङ गरेका विलीले दुई मेडन राख्दै ४५ रन खर्चिए । क्रिस वोक्स र आदील रासिदले समान दुई विकेट लिए । मार्क उडले एक विकेट हात पारे ।

अक्टोबर ५ देखि सुरु भएको प्रतियोगितामा भारत हालसम्म अपराजित छ । ६ खेलबाट १२ अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ । यता, विश्वकपमा खराव लयबाट गुज्रिरहेको साविक विजेता इंग्ल्यान्ड भने ६ खेलबाट दुई अंकसहित तालिकाको पुछारमा छ ।