हाङ्जाओ पारा एसियाडः पलेशालाई ऐतिहासिक कास्य

मूलखबर संवाददाता
काठमाडौं

पलेशा गोवर्द्धनले चीनको हाङजाओमा जारी चौथो पारा एसियाडमा तेक्वान्दोमा कास्य पदक जितेकी छन्।

पारा एसियाडमा पदक जित्ने पलेशा पहिलो खेलाडी हुन्। मंगलबार भएको खेलमा पलेशाले महिला के४४ को ५७ केजी तौल समूहमा कास्य पदक हात पारेकी हुन्।

पहिलो खेलमा चीनकी याङ लिटिंगलाई १४–१ ले हराउँदै पलेशा सेमिफाइनलमा प्रवेश गरेकी थिइन्।सेमिफाइनलमा कजाकस्तानकी कमिल्या दोसमलोभासँग १६–१० ले हारेपछि कास्यमा सीमित भइन्। रेपेचेजमा उनले बाई प्राप्त गरेपछि कास्य पदक पक्का भएको हो।

यस विधामा ५ खेलाडी सहभागी भएकामा रेपेचेजमा चीनकी याङ लिटिंग चीनकै लि युजीसँग पराजित भइन्।