यस्तो देखियो टुँडीखेलको फूलपाती बढाइँ (फोटो फिचर)

मूलखबर संवाददाता
काठमाडौं

नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ ।​ शनिबार काठमाडौँस्थित टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, नेपाल सरकारका मन्त्रीहरू तथा सरकारका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि प्रस्तुत गरिएको थियो ।

बडादसैँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।

नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।

टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरुलाई दसैँ बिदामा जान अनुमति दिने अभ्यास सेनामा छ ।