
जारी विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जीत
आइसिसी एकदिवशीय विश्वकप क्रिकेट २०२३मा नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको छ।
शनिबार लखनउ स्टेडियममा भएको खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको हो। १० बल बाँकी रहँदै श्रीलंकाले २६३ रनको लक्ष्य पाँच विकेट गुमाएर पछ्याएको हो।
नेदरल्यान्ड्सका लागि साइब्रान्ड एंगेलब्रेक्टले सर्वाधिक ७० रन बनाएका थिए। लोगन भ्यान विकले ५९ रन, कोलिन एंकरम्यानले २९, म्याक्स ओ-डोउद र स्कट एड्वार्डसले १६-१६ रन जोडे। अन्य खेलाडीहरू एक अंकको रनमा सीमित भएका थिए।
श्रीलंकाको बलिङतर्फ दिलशन मदुशंका र कसुन रजिथाले ४-४ विकेट लिएका थिए। महिश थिकशानाले एक विकेट लिए।
श्रीलंकाले लक्ष्य पछ्याउनेक्रममा सदीरा समाराविक्रमले अविजित रहेर १०७ बलमा ९१ रन प्रहार गरे। जसमा ७ वटा चौका प्रहार गरेका थिए। उनी यस खेलका प्लेयर अफ दी म्याच समेत बनेका छन्।
पथुम निसाकाले ५४ रन, चरित असलंकाले ४४ रन, धनन्जय डी सिल्भाले ३० रन र कुशल मेन्डिसले ११ रन बनाएका थिए।
नेदरल्यान्ड्सका अर्यान दत्तले तीन विकेट लिँदा पल भ्यान मीकिरेन र कोलिन एंकरम्यानले एक-एक विकेट लिए।
यसअघि श्रीलंकाले खेलेका तीन वटै खेलमा पराजय भोगेको थियो। श्रीलंका अष्ट्रेलिया, पाकिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएको थियो।
नेदरल्यान्ड्सले पनि यो विश्वकपमा एउटामात्रै खेल जितेको छ। नेदरल्यान्ड्सले न्युजिल्यान्ड र पाकिस्तानसँग हार व्यहोर्दा दक्षिण अफ्रिकासँग भने जितेको थियो।
विश्वकपको तालिकामा नेदरल्यान्ड्स आठौं स्थानमा छ भने श्रीलंका नवौं स्थानमा छ।
विश्वकप तालिकाको शीर्षस्थानमा ८ अंकसहित न्युजिल्यान्ड छ भने दोस्रोमा ८ अंकसहित भारत छ।
