विश्वकप क्रिकेटः शतप्रतिशत जीत निकाल्दै न्युजील्यान्ड शीर्ष स्थानमा

मूलखबर संवाददाता
काठमाडौं

न्युजील्यान्डले आईसीसी विश्वकप २०२३ अन्तर्गत बुधवार भएको खेलमा अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यससँगै न्युजील्यान्डले प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । न्युजील्यान्डले यसअघि इङ्ग्ल्यान्डलाई नौ विकेट पराजित गरेको थियो भने नेदरल्यान्ड्सलाई ९९ तथा बङ्गलादेशलाई ८ विकेटले हराएको थियो ।

जीतका लागि २८९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रनको योगदान दिए । उनले ६२ बलमा एक चौकासहित सर्वाधिक ३६ रन बनाए । त्यस्तै आजमतुल्लाह ओमरजाई २७, रहमानउल्लाह गुरबाज ११, इब्राहिम जद्रान १४, मोहम्मद नाबी ७, राशिद खान ८ र मुजिब उर रहमान ४ रनमा आउट भए ।

न्युजील्यान्डका मिचेल सान्टनार र लोकी फर्गुसनले समान तीन-तीन विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए । त्यस्तै म्याट हेनरीले १ विकेट झारे । त्यसअघि भारतको चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजील्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८८ रनको योगफल बनायो । न्युजील्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।

त्यस्तै कप्तान टम लाथमले ६८ रन जोडे । उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाए । विल योगले ५४ रन बनाए । उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । रचिन रविन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाई र नवीन उल हकले समान दुई-दुई विकेट लिए । त्यस्तै राशिद खान र मुजिब उर रहमानले समान एक-एक विकेट झारे । शतप्रतिशत नतिजासँगै १० टोली सहभागी प्रतियोगितामा न्युजिल्यान्ड लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट आठ अंक जोडेको छ । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

एक खेल कम खेलेको आयोजक भारतको ६ अंक छ । भारतले आज दिउँसो १ः१५ बजे बंगलादेशसँग खेल्दैछ ।