विश्वकप क्रिकेटः अस्ट्रेलियाको पहिलो जीत

मूलखबर संवाददाता
काठमाडौं

आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ । अस्ट्रेलियाले सोमबार भएको खेलमा श्रीलंकाविरुद्ध पाँच विकेटको सहज जित निकालेको हो ।

भारतको लखनउस्थित एकाना रंगशालामा श्रीलंकाले प्रस्तुत गरेको २१० रनको लक्ष्य अस्ट्रेलियाले ३५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा जस इङ्लिसले ५८ रन बनाए । ओपनर मिचेल मार्सले ५२ रन थपे । मार्नुस लाबुसचेन्जले ४०, ग्लेन म्याक्सवेलले ३१, मार्कुस स्टोइनिसले २० र डेविड वार्नरले ११ रन जोडे ।

दिल्सान मदुसन्काले तीन विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राख्दै ३८ रन खर्चिए । दुनिथ वेलालागेले एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको श्रीलंकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर २०९ रनको योगफल खडा गरेको थियो । श्रीलंकाका ओपनरद्वय किशल परेरा र पथुम निसान्काले क्रमशः ७८ र ६१ रन जोडेका थिए । यी दुईले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

तर, यसपछिका कुनै पनि ब्याटरले उल्लेख्य योगदान पुर्याउन नसक्दा श्रीलंका २०९ रनमै समेटियो । चरिथ असलन्काले २५ रन थप्दा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए । आठ ओभर बलिङ गरेक उनले एक मेडन राख्दै ४७ रन खर्चिए । मिचेल स्टार्क र प्याट कुमिन्सले समान दुई विकेट लिए । ग्लेन म्याक्सवेलले एक विकेट हात पारे ।

प्रतियोगितामा पहिलो जित निकालेको अस्ट्रेलिया तीन खेलबाट दुई अंकसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि जितविहीन श्रीलंका भने तालिकाको नवौँ स्थानमा छ ।