एनआरएनलाई नागरिकता वितरण मंगलबारबाट

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नागरिकता वितरण शुभारम्भ मंगलबार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटारस्थित निवासबाट नागरिकता विरण शुभारम्भ गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान ७ बजे एनआरएनलाई नागरिकता वितरण शुभारम्भ गर्न लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

गैरआवासीय नेपाली संघको अधिवेशनका लागि विश्वभरबाट काठमाडौंमा भेला भएकाहरुमध्ये शीर्ष नेतृत्व तहबाट नागरिकता वितरण शुभारम्भ गर्न लागिएको हो । अन्यले पछि क्रमशः नागरिकता पाउन सक्नेछन् ।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने बाटो खुलेको थियो ।  नागरिकतासम्बन्धी ऐनको दफा ७ मा गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी प्रावधान छ । ऐनको ७ (क) १ मा भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने ।’

विभिन्न मुलुकमा करिब १५ लाखभन्दा बढी गैरआवासीय नेपाली रहेको अनुमान छ । यस्तो नागरिकता पाउनेले भोट हाल्ने तथा राजनीति गर्न भने पाउने छैनन् । साथै, सरकारी पदमा पनि बस्न पाउँदैनन् । व्यवसाय गर्न पाउनुका साथै उनीहरूले सम्पत्ति भने दुवै देशमा राख्न पाउँछन् ।

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्नेछन् । साथै, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने प्रावधानसमेत ऐन र नियमावलीमा छ । यस्तो नागरिकता लिएका व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहितविपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत छ ।

नागरिकता ऐन सम्बन्धी नयाँ नियमावलीमा आमाको नामबाट नागरिकता लिन पनि सहज हुने गृह मन्त्रालयका अधिकारी बताउँछन् । नेपाली आमाबाट जन्म भई बाबुको पहिचान खुल्न नसकेको अवस्थामा आमा वा बाबुको थर तथा ठेगानामध्ये रोजेको थर तथा ठेगाना राख्न पाउनेछन् ।