प्रेस सेन्टरको चियापानमा नेताहरुले भने– शुद्धीकरण अभियान सफल पारौं

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । प्रेस सेन्टर नेपालको प्रतिष्ठान प्रदेश समितिले दशैं, तिहार र छठ पर्वको अवसरमा आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

प्रेस सेन्टर नेपालको बबरमहलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियानमा भाँजो हाल्न खोज्नेहरुको भण्डाफोर गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल)ले शुद्धीकरण अभियानमा आफ्नो संगठन चट्टान भएर उभिरहेको भन्दै शुद्धीकरणका विरोधीहरुको सबै श्रमजीवीले प्रतिवाद गर्नुपर्ने बताए । शुद्धीकरण अभियानले वास्तविक र श्रमजीवी पत्रकारहरूलाई फाइदा हुने भएकाले केही गैरपत्रकार अनि गलत मानसिकताका व्यक्तिहरु अत्तालिएको उनले बताए ।

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले महासंघको सदस्यता शद्धीकरण प्रक्रिया प्रेस सेन्टरको जोडबलमा सुरु भएकाले त्यसलाई सफल बनाउनुपर्ने बताए । दशैं तिहारजस्ता चाडबाडलाई अवसर बनाउँदै माउ पार्टीको अभियानमा साथ दिन पनि उनले प्रेस सेन्टरकर्मीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा संगठनका उपाध्यक्ष निर्मल ज्ञवाली, अर्का उपाध्यक्ष विदुर खड्का, उपमहासचिव रामकृष्ण अधिकारी, सचिव केशव भुल, सहकोषाध्यक्ष बुद्ध लोप्चन, प्रतिष्ठान प्रदेश अध्यक्ष वीरेन्द्र ओली लगायतले धारणा राखेका थिए ।

प्रतिष्ठान प्रदेश अध्यक्ष ओलीले सभापतित्व गरेको कार्यक्रममा उपाध्यक्ष रघुनाथ बजगाईले स्वागत मन्तव्य राखेका थिए भने महासचिव तुल्ससी सापकाटाले सञ्चालन गरेकी थिइन् ।