
मोरङमा ट्रकभित्र युवती बलात्कृत, ३ जना पक्राउ
विराटनगर । मोरङको विराटनगरमा २५ वर्षीया एक युवती सामूहिक बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले एक बालकसहित तीन जनालाई पक्रेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–३ मा पार्किङ गरेर राखिएको ट्रकमा आइतबार बिहान युवतीमाथि सामूहिक बलात्कार भएको हो ।
पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय एक बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षका बालक पनि सहचालक नै रहेको प्रहरीको भनाइ छ ।
महिलाले प्रतिकार गरेपछि भेला भएका स्थानीयले खबर गरेपछि लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट महिलाको उद्धार गर्दै तीन जनालाई पक्राउ गरेको डिएसपी दाहालले बताए ।
यसैबीच मोरङकै लेटाङकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का ३० वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कृष्णबहादुरले पटक–पटक बालिकालाई बलात्कार गर्ने गरेको र ती बालिकाको ६ महिनाको गर्भसमेत रहेको छ ।
