कोशी प्रकरणपछि पनि विचलित छैनन् प्रचण्ड, चितवनबाट दिए बोल्ड सन्देश
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता शेखर कोइरालाको विद्रोहमा नेकपा एमालेको समर्थन लिएर मुख्यमन्त्री नियुक्त केदार कार्की गठबन्धनकै मुख्यमन्त्री भएको बताएर बोल्ड सन्देश दिएका छन्।
कतिपयले कोशीसँगै सबैतिर कांग्रेस एमाले सहकार्यको राजनीति सुरु हुने बताइरहेका बेला प्रचण्डले आफू विचलित नरहेको सन्देश दिएका हुन्।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले कार्कीलाई गठबन्धनले विश्वासको मत दिने बताए। ‘कोशीको समस्या समाधान गरिएको छ। अन्ततः यसले गठबन्धनलाई बलियो बनाउनेछ,’ प्रचण्डले भने,’कार्कीजी मुख्यमन्त्री हुनुभएको छ। उहाँ हामी सबैको साझा मुख्यमन्त्री हो।’
प्रचण्डले तत्काल सर्वदलीय सरकारको सम्भावना भने नभएको बताए। आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धन बलियो बनाएर अघि बढ्ने सहमति भएको थियो। माओवादी केन्द्रका इन्द्र आङ्बोलाई सत्ता गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार बनाएपछि कोइराला पक्षका कार्कीलाई एमालेले समर्थन गर्दै अगाडि बढाएको थियो।
कार्कीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ। एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन्। कोइरालासहित आफू र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमतिपछि प्रचण्ड ‘कन्फिडेन्ट’ सुनिएका हुन्। माओवादीबाट प्रस्तावित उम्मेदवारलाई पराजित गरेका कार्कीलाई साथ दिने सहमतिले एमालेले चालेको पछिल्लो चाल जोखिममा पर्ने देखिएको छ।
प्रचण्डले के भने
चितवनमा प्रचण्डले एमालेप्रति लक्षित गर्दै अभिव्यक्ति दिए । तर एमालेले गठबन्धन विभाजन गर्न खेलेको षड्यन्त्र असफल पारेको दाबी गरे । गठबन्धन सरकार नै पूर्ण कार्यकाल रहने उनले दाबी गरे ।
‘कहिल्यै सत्तामा फर्किन पाइँदैन कि भनेर एकथरी निकै विक्षिप्त भएका छन् । सायद तपाईँले महसुस गर्नुभएको होला । अहिले भर्खरै कोशी प्रदेशमा जे राजनीति परिदृश्य तपाईँले देख्नुभयो होला, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे यहाँ खेल्न सकिन्छ कि यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भन्ने योजना अन्तर्गत यो काम भएका थिए’, उनले भने, ‘तर हिजो प्रधानमन्त्रीको हैसियतले म, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको नेतृत्वमा एउटा सहमति भएपछि , त्यो षड्यन्त्रलाई पनि निस्तेज पारिएको छ । अब यो गठबन्धन पूर्ण कार्यकाल यही स्पिरिडमा देश र जनताको पक्षमा काम गर्ने विश्वास मत तपाईँलाई दिलाउन चाहन्छु ।’
सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा राम्रो काम गरेको एमालेलाई मन नपरेकाले के गरी गठबन्धन कमजोर पार्ने, के गरी यो गठबन्धन उल्टाउने भन्ने योजनामा लागेको आरोप लगाए । यो गठबन्धन सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा, देशको राष्ट्रिय स्वाधीनतालाई अझ बलियो बनाउने भारत, अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने नेपाललाई राजनीति स्थायित्व र गतिशील बनाउने प्रक्रिया रहेको पनि उनले जिकिर गरे ।
कोशीमा पनि गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन्।
माधव नेपालको पनि त्यस्तै संकेत
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन् ।
वीरेन्द्रनगरमा आइतबार आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको तर त्यो सम्भव नहुने बताए । उनले भने, “कोशी प्रदेशको मुद्दालाई लिएर सरकार ढल्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो । गठबन्धन सरकार ढाल्न कसैले सक्दैन ।”