ईजरायलबाट नागरिक उद्वार गर्नेमा नेपाल अग्रस्थानमा

मूलखबर संवाददाता
काठमाडौं, २७ असाेज

द्वन्द्वग्रस्त मुलुक इजरायलबाट नागरिक उद्वार गर्नेमा नेपाल अग्रस्थानमा देखिएकाे छ ।

विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन जित्नेगरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो ।

सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल वायु सेवा निगममार्फत सरकारले दुबई हुँदै इजरायल पुगेर उद्धार गरेर शुक्रबार बिहान ३ बजे काठमाडौं ल्याइपु¥याएको हो ।

बिहीबार इजरायलको तेलअभिभबाट नेपाली लिएर उडेको नेपाल एयरलाइन्सको विमान बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो । नेपालीलाई उद्धार गर्नका लागि परराष्ट्रमन्त्री एनपी साउद तेलअभिभ पुगेका थिए । विमानस्थलमा आइपुगेपछि उद्धार भएर आएका र आफन्तले सरकारको खुलेर प्रशंसा गरे ।

हमासको आक्रमणमा परी १० नेपालीले ज्यान गुमाउनुका साथै चार जना नेपाली नागरिक घाइते भएकामा एक जना उपचारपछि पहिलो लटमा स्वदेश फर्किएका छन् ।

एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेका मन्त्री साउदले जानकारी दिए । आक्रमणमा परी सम्पर्कविहीन भएका विपीन जोशीको खोजी निरन्तर जारी रहेको र उनलाई हमासले अपहरण गरेको अनुमान गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएकामध्ये मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउनका लागि प्रक्रियागत कार्य भइरहेको पनि मन्त्री साउदले जानकारी दिए । मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकतानुसार विमान पठाइने बताए । मन्त्रिपरिषद्ले व्यावसायिक फ्लाइटबाट आउनेहरूको टिकट खर्च बेहोर्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको स्पष्ट पारे ।

नेपाल वायु सेवा निगमको नाइन एन–एएलजेड एयरबस–३३० विमानबाट स्वदेश फर्काइएपछि सरकार र नेपाल एयरलाइन्सप्रति जनताले आभार प्रकट गरेका छन् । इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीलाई इजरायली सुरक्षा संयन्त्रसमेतको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको र उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई समेत सुरक्षित ठाउँमा सारिएको नेपाली राजदूतावासले जनाएको छ ।

नेपालबाट सुदूरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयबाट इजरायलसँग सरकारले सम्झौता गरेको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका कृषि विज्ञान अध्ययनरत २ सय ६५ जनाभन्दा बढी नेपाली विद्यार्थी सो क्षेत्रमा फसेका थिए । याे खबर राजधानी दैनिकमा छ ।