इजरायल उद्दार अभियान सफल, सकुशल फर्किए २ सय ५३ जना नेपाली (तस्विरसहित)

मूलखबर संवाददाता
काठमाडौं

युद्धग्रस्त क्षेत्र इजरायलबाट नेपाली विद्यार्थीलाई सकुशल उद्धार गरी नेपाल वायुसेवा निगमको जहाज नेपाल आइपुगेको छ। तेलअवीवस्थित बेन गुरिन विमानस्थलबाट २५३ जना नागरिकको उद्धार गरी जहाज काठमाडौं आइपुगेको हो।

दुबई ट्रान्जिट बनाएर जहाज नेपाल फर्किएको थियो। विहान विहीबार राति अर्थात् शुक्रबार बिहान १:३० बजे जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि उक्त क्षेत्र युद्धभूमिमा परिणत भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा सरकारले नागरिक उद्दार गरेको हो।

निगमको जहाज इजरायलमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन बिहीबार दुवईहुँदै इजरायल पुगेको थियो। जहाजमा परराष्ट्र मन्त्री एनपी साउद सहितको टोली गएको थियो।

गत शनिवार हमासले इजरेलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीसहित सयौँ जनाको ज्यान गएको थियो। उक्त घटनामा थप चार जना घाइते भएका र एक जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको उनीहरूले बताएका छन्।

परराष्ट्र मन्त्रालयले इजरायलमा करिब ४ हजार ५०० नेपाली रहेको अनुमान गरेको छ ।

नेपालबाट सुदूरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयबाट इजरायलसँग सरकारले सम्झौता गरेको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका कृषि विज्ञान अध्ययनरत २६५ जनाभन्दा बढी नेपाली विद्यार्थी सो क्षेत्रमा फसेका थिए ।

परराष्ट्रमन्त्री साउद नेतृत्वको संयन्त्र र मन्त्रालयको समन्वयमा इजरायली सुरक्षाकर्मीको सहयोग लिएर नेपाली विद्यार्थीलाई युद्धग्रस्त क्षेत्रबाट तेल अबिबलगायत सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षित स्थानमा सारिए पनि युद्ध थप चर्किरहेका कारण उनीहरू स्वदेश फर्किन चाहेका थिए ।

सुरक्षित स्थानमा राखिए पनि नेपालीहरूले आफूमाथि खतरा रहेको भन्दै नेपाल फिर्ता ल्याउनका लागि दबाब सिर्जना गरेका थिए । त्यसपछि सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ताका लागि अनलाइन फर्म खुला गरेर दर्ता प्रक्रिया सुरु गरेको थियो ।

बिहीबारसम्म करिब चार सयजना नेपालीले स्वदेश फिर्ताका लागि नाम दर्ता गराए पनि शुक्रबार बिहान इजरायल उडेको नेपाल वायुसेवा निगमको विमानमा २५३ जना मात्रै फर्किएका छन् ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री साउदलाई चार्टर्ड उडानबाट इजरेल पठाएर उद्धार तथा कूटनीतिक कामको अनुगम एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले इजरेलबाट नेपाल फर्किन चाहने नेपालीहरूको खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो । बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सञ्चारकर्मीहरूलाई उक्त जानकारी दिएका थिए।

उक्त बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई उद्धार उडान इजरेलतर्फ पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए।

इजरेलमा निधन भएका नेपालीहरूको शव भने ल्याउन केही समय लाग्ने अधिकारीहरूको भनाइ छ।

इजरेलस्थित नेपाली राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बीबीसीलाई दिएको जानकारीअनुसार इजरेली निकायले नेपालीलाई शव हस्तान्तरण गर्न पनि केही प्रक्रिया पूरा गर्न बाँकी नै रहेको छ।

इजरेलले आफू युद्धमा रहेको घोषणा गरेकाले शव हस्तान्तरणसम्बन्धी प्रक्रियाहरू पूरा गर्न केही दिन लाग्न सक्ने परराष्ट्रकी प्रवक्ता लम्सालले पत्रकार सम्मेलनमा जानकारी दिएकी थिइन्।