विश्वकप क्रिकेटः कप्तान रोहितले कीर्तिमान रच्दा भारतको सहज जीत

मूलखबर संवाददाता
काठमाडौं

कप्तान रोहित शर्माको कीर्तिमानी ब्याटिङप्रेरित भारतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

बुधबार नयाँ दिल्लीस्थित अरूण जेट्ली रंगशालामा कप्तान रोहितले कीर्तिमानी ब्याटिङ गरेपछि अफगानिस्तानले प्रस्तुत गरेको २७३ रनको लक्ष्य भारतले ३५ ओभरमा दुई विकेट गुमाएर भेटायो ।

भारतको जितमा रोहितले १३१ रन बनाए । आक्रामक ब्याटिङ गरेका रोहितले ८४ बलमा १६ चौका र पाँच छक्का प्रहार गरे । एकदिवसीय विश्वकपमा रोहितको यो सातौँ शतक हो । योसँगै रोहितले विश्वकपमा सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । रोहितले आफ्नै मुलुकका पूर्वक्रिकेटर सचिन तेन्दुल्करले बनाएको ६ शतकको कीर्तिमान तोडेका हुन् ।

रोहितबाहेक विराट कोहलीले अविजित ५५ रन बनाए । विराटले ५६ बलमा ६ चौका प्रहार गरे । इशान किशनले ४७ र अविजित रहेका श्रेयस ऐयरले २५ रन जोडे ।

अफगानिस्तानका राशिद खानले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २७२ रनको योगफल खडा गरेको थियो ।अफगानिस्तानका कप्तान हस्मतुल्लाह साहोदीले ८० रन बनाए । उनले ८८ बलमा आठ चौका र एक छक्का प्रहार गरे । अज्मतुल्लाह ओमरजाइले ६२ रन थपे । ६३–३ को कठिन अवस्थामा रहँदा यी दुईले चौथो विकेटका लागि १२१ रनको साझेदारी गर्दै अफगानिस्तानको स्कोरबोर्ड सम्हालेका थिए ।

इब्राहिम जद्रानले २२, रहमनुल्लाह गुर्बजले २१, मोहम्मद नाबीले १९ र रहमत साहले १६ रन जोडे ।

भारतका जसप्रित बुमराहले चार विकेट लिए । हार्दिक पन्ड्याले दुई विकेट लिदा शार्दुल ठाकुर र कुलदीप यादवले समान एक विकेट लिए ।

लगातार दोस्रो जित निकालेको भारत चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले यसअघि पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । लगातार दोस्रो हार बेहोरेको अफगानिस्तान भने तालिकाको पुछारमा छ । अफगानिस्तान यसअघि पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।