एसियाडमा पदक विजेता खेलाडीलाई निम्तो गरी प्रधानमन्त्रीले दिए बधाई, खेलकुदको विकासमा सघाउने

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको हाङझाउमा आयोजित १९औँ एशियाली खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बालुवाटारस्थित निवासमा निम्तो गरी  बधाई दिएका छन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले खेलकुदको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्रीले १९औँ एशियाली खेलकुदमा महिलाको प्रस्तुति रोचक भएको उल्लेख गर्दै आगामी दिनमा अझ धेरै पदक र उत्कृष्ट खेल प्रदर्शन गर्नेगरी परिश्रम गर्न आग्रह गरे ।

उक्त प्रतियोगिताअन्तर्गत महिला कराँतेमा नेपालले रजतपदक र कबड्डीमा कास्य पदक जितेको थियो ।

प्रधानमन्त्री प्रचण्डले आफू खेलाडीलाई हौसला दिन प्रतियोगितास्थलमा पुगेको स्मरण गर्दै पदक जितेका खेलाडीलाई उचित पुरस्कारको व्यवस्था गर्ने बताए ।

खेलाडीलाई प्रोत्साहन गर्नेसम्बन्धी नियमावली यसअघिको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको उल्लेख गर्दै आजको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई पुरस्कृत गर्नका लागि अर्थमन्त्रालयले रकम निकासा दिने निर्णय भएको जानकारी गराए ।

‘खेलाडीको प्रोत्साहनका लागि मैले पुरस्कार दिने घोषणा गरेको थिएँ, सरकारले नियमावली स्वीकृत गरिसकेको छ, आजको मन्त्रिपरिषद् बैठकमा खेलाडीलाई पुरस्कार दिनका लागि निकासाको निर्णय भयो र एक साताभित्र अर्थमन्त्रालयबाट रकम आउनेछ’, उनले भने ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्षलगायतको उपस्थिति थियो ।