इजरायलकी राजदूत रिजाललाई फिर्ता बोलाउने माग किन उठ्यो ?
काठमाडौं । आमजनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाललाई निलम्बन गर्न माग गरेका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद साहले इजरायलमा कूटनीतिक असफलता भएको भन्दै राजदूत रिजाललाई निलम्बन गर्नुपर्ने धारणा राखेका हुन् ।
राजदूत रिजालले कूटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा द्वन्द्वग्रस्त क्षेत्र इजरायलबाट नेपालीहरुको उद्धारमा ढिलाइ भइरहेको सांसद साहको भनाइ छ ।
सरकारले भागबण्डा गरेर राजदूत नियुक्ति गर्नाले असक्षम राजदूत नियुक्ति हुने गरेको र त्यसको उदाहरण रिजाल भएको जिकीर गरे ।
को हुन् कान्ता रिजाल ?
पाँचथर जिल्लाको साबिक आङसराङ–१ मेहेलबोटेकी कान्ता रिजाल नेपाली कांग्रेसको कोटाबाट इजरायलको आवासीय राजदूत नियुक्त भएकी हुन् ।
उनी पुराना कांग्रेस नेता गणेश रिजालकी छोरी हुन् । गणेश रिजाल नेपाली कांग्रेस पाँचथरको पूर्व पार्टी सभापति र २०१५ सालका सांसद समेत हुन् । रिजालले महिला विकास अधिकृतको रुपमा काम गरेको अनुभवसमेत छ ।
लामो समयदेखि कांग्रेसको राजनीतिमा सकृय कान्ता पहिलो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फको उम्मेद्वार र नेपाली कांग्रेसको महासमिति सदस्य समेत बनेकी थिइन् ।
उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा २०७८ चैत २४ गते राजूतमा सिफारिस गरिएको थियो । उनी २०७९ असार १२ गते इजरायलको आवासीय राजदूतमा नियुक्त भएकी थिइन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रिजाल सहित राजदूत रिक्त रहेका २० देशमा नियुक्ति सिफारिस गरेको छ । सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको हो । उनी साइप्रसको गैरआवासी राजदूत पनि हुन् ।
साइप्रससँग नेपालको कूटनीतिक सम्बन्ध रहे पनि साइप्रसमा नेपालको दूतावास नभएकाले इजरायलस्थित नेपाली राजदूतले नै साइप्रसको गैरआवासीय राजदूतको भूमिका निभाउँछन् ।