
विश्वकप क्रिकेटः २ रनमा ३ विकेट गुमाएको भारतले अष्ट्रेलियालाई हरायो
एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतले विजयी सुरुवात गरेको छ। चेन्नई स्थित एमए चिदम्बरमा स्टेडिमयमा भएको आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोलिले सुखद सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै १ सय ९९ रनमा समेटिएको थियो। जवाफमा उक्त लक्ष्य भारतले ५२ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गर्यो।
भारतको जितमा विराट कोहली र केएल राहुलले चौंथो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरे। खराब सुरुवात गरेको भारतले २ रन जोड्दा ३ विकेट गुमाएपनि कोहली र राहुलले सानदार साझेदारी गर्दै भारतको जित पक्का गरेका थिए।
त्यसअघि विराट कोहली ब्यक्तिगत १२ रनको अवस्थामा जिवनदान पाउन सफल हुँदा अस्ट्रेलियालाई त्यस्को मुल्य मँहगो पर्यो। भारतको स्कोर २६ रनमा ३ विकेट हुँदा जोस हेजलवुडको बलमा मिचेल मार्सले क्याच ड्रप गरेका थिए। पछि कोहली ८५ रन बनाउँदै टिमको जित निश्चित गरे। राहुलले ९७ रनको अविजित इनिङ खेले। राहुललाई हार्दीक पाण्ड्याले ११ रनमा साथ दिए। अस्ट्रेलियाका लागि जोस हेजलवुडले ३ विकेट लिएका थिए। मिचेस स्टार्कको नाममा १ विकेट रह्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ४६ रन बनाउँदा डेभिड वार्नरले ४१ रन बनाएका थिए। त्यस्तै मिचले स्टार्कले २८ रन बनाउँदा प्याट कमिन्सले १५ तथा मार्नुस लबुसेनले २७ रन बनाए। ग्लेन म्याक्सवेल १५ रनमा आउट भएका थिए। भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिंदा जसप्रित बुमराह र कुलदीप यादवले समान २-२ विकेट लिएका थिए। त्यस्तै मोहम्मद सिराज, हार्दीक पाण्ड्या र रविचन्द्रन आश्विनले समान १-१ विकेट लिएका थिए।
