विश्वकपमा कीर्तिमानः चौका र छक्का वर्षाएको दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

मूलखबर संवाददाता
काठमाडौं

आइसिसी विश्वकप क्रिकेट्टमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ रनले हराएको छ । दिल्लीमा जितको लागि ४ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका ४४.५ ओभरमा ३ सय २६ रनमा अल आउट भयो ।

श्रीलंकाका ब्याटर चरिथ असलंकाले ६५ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७९ रन बनाए । कुशल मेन्डिस ४२ बलमा ४ चौका र ८ छक्कासहित ७६ रनको विष्फोटक इनिङ खेल्दै आउट भए भने कप्तान दाशुन शानका ६२ बलमा ६ चौका र ३ छक्कासहित ६८ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ३ तथा स्पिनर केशव महाराज, कागिशो रबाडा र मार्को यानसनले २/२ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २८ रन बनाएको थियो ।

यो विश्वकप इतिहासकै उच्च योगफल हो । दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डि कक, रास्सी भान डर डुसेन र एडेन माक्ररमले शतकीय इनिङ खेले । एडेन माक्ररमले विश्वकप इतिहासकै सर्वाधिक छिटो ४९ बलमा शतक पूरा गरेका थिए ।

उनले २०११ मा आयरल्यान्डका केभिन ओ ब्रायनले इंग्ल्यान्डविरुद्ध ५० बलमा हानेको शतकको कीर्तिमान तोडेका छन् ।

विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा तीन शतक प्रहार भएका हुन् ।

खेलमा श्रीलंकाले १७ र दक्षिण अफ्रिकाले १४ गरि कुल ३१ छक्का प्रहार भएका छन् । दक्षिण अफ्रिका ४ सय २८ र श्रीलंका ३ सय २६ गरि एकै खेलमा ७ सय ५४ रन बनेको छ ।