२५० इजरायली मारिएपछिको आक्रमण, २३२ प्यालेस्टाइनीको अवसान (तस्विरसहित)

मूलखबर संवाददाता
काठमाडौं

प्यालेस्टाइनी लडाकुले गाजापट्टीबाट हवाई, समुद्र र स्थलमार्ग हुँदै इजरायलविरुद्ध ‘युद्ध’ सुरु गरेका र आक्रमणमा कम्तीमा ५ सय मानिसको ज्यान गएको छ।

आक्रमणका परी २ सय ५० जनाको मृत्यु भएको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन् । घटनामा दर्जनौँ व्यक्ति घाइते भएका इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘आफूहरू युद्धमा रहेको’ भन्दै कडा प्रतिकारको चेतावनी दिएका छन् । उनले भने, “यो आक्रमणका लागि शत्रुले अनपेक्षित मूल्य चुकाउनुपर्नेछ ।”

गाजापट्टीलाई नियन्त्रण गर्ने इरान समर्थित हमासले एक भिडियो जारी गरेको छ, जसमा उसका लडाकुले सादा पोसाकमा सजिएका तीनजनालाई समातेका छन् । भिडियो क्याप्सनमा ‘शत्रु सैनिक’का रूपमा वर्णन गरिएको छ ।

हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले भनेको छ, “हामीले इजरायलद्वारा कब्जा गरिएका सबै अपराध अन्त्य गर्ने निर्णय गर्‍यौँ । जवाफदेही नबनाई विद्रोह गर्ने उनीहरूको समय सकिएको छ । हामीले ‘अपरेसन अल अक्सा फ्लड’को घोषणा गर्‍यौँ र हामीले २० मिनेटको पहिलो आक्रमणमा पाँच हजारभन्दा बढी रकेट प्रहार गर्‍यौँ ।”

इजरायली सेनाले प्यालेस्टिनी लडाकुसँग गाजापट्टीनजिकका विभिन्न स्थानमा लडिरहेको जनाएको छ । सेनाले प्रतिरक्ष कारबाहीलाई ‘फलामको तरवार’ नाम दिएको छ । सेनाका प्रवक्ता रिचार्ड हेक्टका अनुसार लडाकुले प्याराग्लाइडर, समुद्र र जमिनबाट संयुक्त रूपमा आक्रमण गरेका थिए ।

सामाजिक सञ्जालमा आएका अपुष्ट भिडियोमा सेनाको पोसाक लगाएका कैयौँ व्यक्तिको शव देखिएको छ । राजमार्गमा पनि मृत्यु भएका सवारीचालक र यात्रीको शव देखिएको छ । आफ्नो घरमा आतंककारीले गोली हानेर सुरक्षित कोठाभित्र पस्न खोजेपछि एक महिलाले ‘कृपया सहयोग पठाउनुहोस्’ भनी बिन्ती गरेकी थिइन् ।

सन् २००७ मा हमासले कब्जा जमाएपछि २३ लाख मानिसको बसोबास रहेको गाजामा आतंककारीको घुसपैठ विरलै भएको छ । गाजालाई इजरायलबाट सैन्यीकृत सीमा अवरोधद्वारा बन्द गरिएको छ ।

यता इजरायलले गाजामा स्थलगत आक्रमणको तयारी गरेको छ। स्थलगत आक्रमण सुरु हुनुअघि गरिएको हवाइ आक्रमणमा कम्तीमा २ सय ३२ जनाले ज्यान गुमाएका छन् भने ११ सय भन्दा बढी घाइते भएका छन्।

इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकसमेत घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।