इजरायलमा भएको आक्रमणको नेपाल सरकारबाट निन्दा
काठमाडौं । सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते भएकोमा दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिअनुसार आतङ्कवादी आक्रमणमा नेपाली पनि परेका छन् ।
आक्रमणमा परेका नौ जना नेपालीमध्ये दुई जनाको अवस्था गम्भीर छ । यससम्बन्धी थप विवरण अद्यावधिक गरिने मन्त्रालयले जनाएको छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ ।
इजरायलको वर्तमान स्थितिलाई दृष्टिगत गरी त्यहाँ सहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न पनि सरकारले अनुरोध गरेको छ ।
इजरायलस्थित नेपाली दूतावासको सम्पर्क विवरण पनि सरकारले उपलव्ध गराएको छ ।
- टेलीफोनः +९७२(०)३५१६८०८५
- राजदूत कान्ता रिजाल– ९७२५४५८६४४२३
- प्रथम सचिव अर्जुन घिमिरे– ९७२५४५८६४४२३
- इमेल- embassy@012.net.il
शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण गरेको छ ।
इजरायली स्वास्थ्य मन्त्रालयले ‘प्यालेस्टिनी आक्रमण’ मा अहिलेसम्म कम्तीमा सय जना मारिएको र ९ सयभन्दा बढी घाइते भएको जनाएको छ । टाइम्स अफ इजरायलले रेडियो आर्मी रेडियोलाई उद्धृत गर्दै ९ जना हमास विद्रोही मारिएको जनाएको छ । हमास विद्रोहीले बन्धक बनाएका केही व्यक्तिलाई प्यालेस्टाइनतर्फ लगेको पनि इजरायली सञ्चार माध्यमले जनाएका छन् ।