कोशी सरकारमा माओवादी केन्द्रको दाबी

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी (नेकपा एस)ले दाबी गरेका छन् ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कुमार कार्कीले विश्वासको मत पाउने स्थिति नदेखेपछि राजीनामा दिएकाले माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकारमा दाबी गरेका हुन् ।

कोशी प्रदेश सभामा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादीकै नेतृत्वमा सरकार बनाउँदा सहजै बहुमत र विश्वासको मत प्राप्त गर्न सकिने दाबी गरे । पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले भने, ‘अहिले तुलनात्मक रुपमा सजिलो बाटो भनेको माओवादीकै नेतृत्वमा सरकार बनाउनु हो ।’

यसअघि माओवादी केन्द्रले दुई पटकसम्म नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएको थियो । थापाको पक्षमा बहुमत पुर्याउन माओवादी केन्द्रले सभामुख पदसमेत त्यागेको थियो ।

तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर थापाको विश्वासको मतको पक्षमा मतदान गरेका थिए । तर सर्वोच्च अदालतले त्यसलाई खारेज गरिदिएपछि थापा मुख्यमन्त्रीबाट हट्नु परेको थियो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउँदा दुई–दुई पटक विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ (३) अनुसार नेकपा एमालेका हिक्मत कुमार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बनेका थिए । उनले आजसम्ममा विश्वासको मत लिनैपर्ने भए पनि बहुमत नपुग्ने देखेपछि राजीनामा दिएका थिए ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार कार्कीले विश्वासको मत लिन नसकेकाले अब उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्छ । यस अनुसार जो प्रदेश सभा सदस्यले आफ्नो नेतृत्वमा बहुमत पुर्याउन सक्छ, उही मुख्यमन्त्री नियुक्त हुन्छ ।

नेकपा माओवादी केन्द्रका नेता आङ्बोले यसअघि माओवादीले सभामुखलाई राजीनामा गराएर नेपाली कांग्रेसको नेतृत्वमा सबैभन्दा बढी त्याग गरेकाले अब सरकारमा माओवादी केन्द्रको दाबी रहने बताए ।

यद्यपि फेरि विश्वासको मत प्राप्त गर्न नसक्ने गरी भने सरकारमा दाबी नगर्ने उनको भनाइ छ । ‘उपधारा ३ हुँदै ५ सम्म पुगिराखेको सन्दर्भमा अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको दाबी गर्नु हुँदैन भन्ने माओवादी केन्द्रको निष्कर्ष छ,’ उनले भने, ‘त्यसकारण अहिले तुलनात्मक रुपमा सजिलो बाटो भनेको माओवादीकै नेतृत्वमा सरकार बनाउँदा सहजै बहुमत प्राप्त गर्न सकिने र विश्वासको मत प्राप्त गर्दै प्रदेशलाई राजनीतिक स्थायीत्वतर्फ लैजान सकिने भएकाले माओवादी पार्टीको दाबी रहन्छ ।’

यसैगरी पूर्वमुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले पनि अब बन्ने सरकारमा आफ्नो पार्टीको पहिलो दाबी रहने पत्रकारहरुसमक्ष बताएका छन् ।

उनले भने, ‘छलफल गर्दै जाँदा कांग्रेसमा सहमती हुन्छ भने ठिकै छ । तर पहिलो दाबी त आफ्नै हुनेभयो ।’ उनले कोशीमा नयाँ सरकार गठन प्रक्रियामा केन्द्रको सत्ता गठबन्धनको निर्णय अनुसार चल्ने पनि बताए ।