कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

मूलखबर संवाददाता
काठमाडौं

विराटनगर। प्रदेश सभाबाट विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् ।

विश्वासको मत लिनुअघि शनिबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीले राजीनामा दिने निर्णय गरेको नेकपा एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले  जानकारी दिए ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको प्रदेशसभा बैठक सुरु भएको छ । संविधानको धारा १६८ को उपधारा (३) बमोजिम २२ भदौमा मुख्यमन्त्री बनेका कार्कीले उपधारा (४) अनुसार आजसम्म मत लिनैपर्छ ।

तर अहिलेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत लगायत पार्टीको गठबन्धनका कारण मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने स्थिति छैन ।

९३ सदस्यीय प्रदेशसभामा उपसभामुख सिर्जना दनुवारसहित एमालेका ४० जना सांसदको समर्थन कार्कीका लागि अपर्याप्त छ । उपसभामुख दनुवारले सभाकाे अध्यक्षता गर्नुपर्ने भएकाले उनले मत दिन पाउँदिनन् । त्यसैले कार्कीलाई हाल एमालेका ३९ सांसदकाे मात्रै समर्थन रहेको देखिन्छ ।

बहुमत पुग्न ४७ सांसदको आवश्यकता पर्छ । तर ६ सांसद रहेको राप्रपाले एमालेको साथ छोडिसकेकाले उनले विश्वासको मत नपाउने निश्चितजस्तै छ ।

मुख्यमन्त्री कार्कीले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठन हुने छ । उपधारा (५) अनुसार, कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने देखिएमा प्रदेश प्रमुखले उसैलाई मुख्यमन्त्री नियुक्त गर्न पाउँछ ।

गठबन्धनमा रहेको कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ जना सांसद छन् ।