
तीन दिनदेखि वेपत्ता महिला घरको भकारीभित्र मृत फेला परिन्
सल्यान । सल्यानमा तीन दिनदेखि वेपत्ता महिला आफ्नै घरको भकारी भित्र मृत फेला परेकी छन् । सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका आफ्नै घरको भकारी भित्र मृत फेला परेकी हुन् ।
असोज १५ गते बेलुकादेखि उनी परिवारका सदस्यहरुको सम्पर्कमा थिइनन् । उनी हराएको भन्दै घर परिवार, छिमेकी र आफन्तहरुले खोजतलास जारी राखेका थिए । तर घरभित्रै कुहिएको जस्तो गन्ध आउन थालेपछि भकारीभित्र हेर्दा उनी त्यहीँ भित्र फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए ।
उनी घरमा छोरी, छोरा, बुहारीसँग बस्दै आएकी थिइन् ।
भकारीभित्र मृत फेला परेपछि शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
