किन भैरहेको छ मनसुन बाहिरिन ढिलाई
पानी पर्नेक्रम पूर्ण रूपमा नरोकिएकाले मनसुन बाहिरिन पनि केही दिन ढिलो हुने भएको छ । कोसी र मधेस प्रदेशमा बिहीबार पनि पानी परेको र आज पनि वर्षाको सम्भावना रहेकाले मनसुनी प्रणाली बाहिरिन केही दिन अझै लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“आज पनि देशका केही भागमा वर्षाको सम्भावना देखिएको छ । मनसुन बाहिरिन कम्तीमा दुई/तीन दिन पानी पर्नेक्रम पूर्ण रुपमा रोकिएर घाम लाग्नु पर्छ,” मौसमविद् प्रतिमा मानन्धर भन्छिन्, “तर, कोसी र मधेस प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेकाले केही दिन अझै मनसुन बाहिरिन समय लाग्न सक्छ ।”
हिजो सुदूरपश्चिम प्रदेशमा मौसम सफा रहेको उनले बताइन् । आज कर्णाली प्रदेशमा मौसम सफा हुने सम्भावना रहेको उनको भनाइ छ । “यो क्रमशः पूर्वतर्फ सर्ने सम्भावना देखिएको छ,” मौसमविद् मानन्धरले भनिन्, “क्रमिक रूपमा मौसममा सुधार हुँदै गयो भने पनि केही दिन लाग्नेछ ।”
पश्चिमबाट क्रमशः पूर्वतर्फ सर्दै गएर नेपालबाट मनसुन बाहिरिने गरेको छ ।
मनसुन बाहिरिने औसत मितिभन्दा चार दिन ढिलो भइसकेको छ । अक्टोबर २ नेपालबाट मनसुन बाहिरिने औसत मिति हो । तर, केही वर्षयता लगातार औसत मितिभन्दा पछि मनसुन बाहिरिँदै आएको छ ।