
विश्वकप क्रिकेटः न्यूजिल्याण्डको विष्फोटक सुरुवात, इंग्ल्याण्ड ९ विकेटले पराजित
वान डे क्रिकेट विश्वकपमा न्यूजिल्याण्डले विष्फोटक विजयी सुरुवात गरेको छ। बिहीबार विश्वकप अन्तर्गत पहिलो खेलमा इंग्ल्याण्डलाई ९ विकेटले हराउँदै न्यूजिल्याण्डले सुखद सुरुवात गरेको हो।
पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८२ रन बनाएको थियो। २८३ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डले ३६.२ ओभरमै लक्ष्य पूरा गर्यो।
पहिलो ओभरमै विकेट गुमाएको न्यूजिल्याण्डले लक्ष्य भेट्टाउँदासम्म अर्को विकेट गुमाउन परेन। न्यूजिल्याण्डका लागि डेभोन कन्भे र रचिन रविन्द्रले विष्फोटक पारी खेल्दै पहिलो खेल आफ्नो पक्षमा पारे।
भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा विश्वकपको पहिलो खेल खेलिएको थियो। पहिलो खेलमा एकै टिमका दुई ब्याटरले शतक प्रहार गरेका छन्।
कन्भेले ८३ र रविन्द्रले ८२ बलमा शतक प्रहार गरेका थिए। इंग्ल्याण्डका जो रुटले ७७ रनको पारी खेले पनि अन्य ब्याटरले अर्धशतक प्रहार गर्न सकेका थिएनन्।
न्यूजिल्याण्डका कन्भेले नटआउट १२१ बलमा १९ चौका र ३ छक्काको मद्दतमा १५२ रन जोडे भने रविन्द्रले ९६ बलको सामना गर्दै ११ चौका र ५ छक्काको मद्दतमा १२३ रनको योदान दिए।
