शिव, गणेश र विष्णुले भने– कान्तिपुरका पत्रकारलाई हटाए कडा आन्दोलन
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले श्रमजिवी पत्रकारहरुलाई सेवाबाट हटाएकोमा पत्रकारहरुका प्रमुख तीन संगठनले विरोध जनाएका छन् ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल)ले बिहीबार संयुक्त विज्ञप्ति निकालेर पत्रकारहरुलाई सेवाबाट नहटाउन भनेका छन् ।
व्यवस्थापन समक्ष कान्तिपुर मिडिया ग्रुपका पत्रकारहरुले राखेका मागहरुप्रति पूर्ण समर्थन र ऐक्यबद्धता जनाउँदै उनीहरुले पत्रकारका मागलाई तत्काल सम्बोधन गर्दै श्रमजिवी पत्रकार ऐनमा भएको व्यवस्था अनुसार व्यवहार गर्न आग्रह गरेका छन् ।
‘कानुनी आधारलाई टेकेर वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान खोज्न कान्तिपुर व्यवस्थापनसँग आग्रह गर्दछौं,’ तीन संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘पत्रकारका माग र आग्रहलाई बेवास्ता गरिए श्रमजिवी पत्रकारहरुको पक्षमा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं । त्यसबाट उत्पन्न हुनसक्ने समस्याप्रति कान्तिपुर व्यवस्थापन नै जिम्मेवार र जवाफदेही हुने समेत स्पष्ट पार्दछौं ।’
कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि काम गर्दै आएका स्थायी तथा करार, स्ट्रिन्जर पत्रकारहरुको सम्झौता नवीकरण नगर्ने, इमेलमार्फत् अवकास पत्र पठाउने, कतिपयलाई स्ट्रिन्जर बस्न र केहीलाई राजीनामा दिन बाध्य बनाउन मानव संशाधन विभागबाट फोन गरेर टर्चर दिने लगायताका गुनासो त्यहाँका पत्रकारहरुले गर्दै आएका छन् ।
यो कार्यलाई प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले निन्दनीय भनेका छन् ।
हेर्नुहोस् संयुक्त विज्ञप्ति-