बाबुराम भन्छन्– माओवादीसँग एकता वार्ताको औचित्य तत्काल छैन

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रसँग पार्टी एकताका लागि तत्काल वार्ताको औचित्य नरहेको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै भट्टराईले माओवादी केन्द्रसँग एकताका लागि वार्ताको औचित्य तत्काल नभएको बताएका हुन् ।

माओवादी केन्द्रले यसअघि समाजवादी पार्टीका नेता महिन्द्र राय यादवलाई पत्र लेख्दै पार्टी एकताका लागि वार्ता गर्न आह्वान गरेको थियो । बाबुरामको सट्टा प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा खानेपानी मन्त्री रहेका यादवलाई सम्बोधन गरेर माओवादीले पत्र लेखेपछि बाबुराम रुष्ट छन् । माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेर विजयी भएका महिन्द्र भने पार्टी एकताका लागि सकारात्मक रहेका छन् ।

बुधबार सकिएको पार्टीको कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा बाबुरामले आफूले पार्टी एकताका लागि नौ बुँदे आधार पेस गरे पनि माओवादीले त्यसमा छलफल नै गर्न नचाहेको आरोप लगाएका छन् ।