नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।

नेशनल पेमेन्ट गेटवे प्रणालीको सफ्टवेयर खरिदमा २३ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार भएको मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल निलम्बनमा परेपछि टेलिकम नेतृत्वविहीन भएको थियो ।

सुनीलले मुद्दाको किनारा नलागेसम्म काम गर्न नपाउने भएकाले उक्त पदमा संगीता पहाडी अर्याल नियुक्त भएकी हुन् । प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ  पनि यो पदका दाबेदार थिए ।

यसअघि दुई पटक खुल्ला प्रतिस्पर्धाबाट सूचीमा परेकी संगीतालाई तेस्रो पटकमा सरकारले प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

एसियन इन्सटिच्युट अफ टेक्नोलोजीबाट टेलिकम्युनिकेसनमा थाइल्याण्डबाट स्नातकोत्तर गरेकी संगीता नेपाल टेलिकममा २९ वर्षदेखि  सेवामा छिन्। संगीता नेपाल टेलिकमकोको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृत थिइन् ।

नेपाल टेलिकममा यति बेला करिब पौने ५ अर्ब रुपैयाँमा नयाँ बिलिङ प्रणाली जडानको ठेक्काको सूचना निकाल्ने तयारी भइरहेको छ।

पुरानो बिलिङ प्रणालीका कारण पटक-पटक घण्टौंसम्म सेवा अवरुद्ध भइरहेकाले नयाँ बिलिङ प्रणाली जडान गर्नुपर्ने दबाब टेलिकममाथि छ। त्यसका लागि टेलिकमले ठेक्का प्रक्रिया अगाडि बढाउँछ कि बढाउँदैन भन्ने चासो छ। यस्तै फाइभजीको काम कसरी अगाडि बढ्छ भन्नेमा पनि चासो छ।