ट्रकको ठक्करबाट दुई स्कुले किशोरको घटनास्थलमै मृत्यु

मूलखबर संवाददाता
काठमाडौं

धादिङको गजुरीनजिक मलेखुको मजुवामा ट्रकको ठक्करबाट आजबिहानै दुई स्कुले बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । घटनापछि स्थानीयले पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।