प्रधानमन्त्रीको चीन भ्रमणबाट सम्बन्धमा नयाँ आयाम थपिएको छ : माओवादी केन्द्र

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको जनाएको छ । एकापसमा  विश्वासको वातावरण बनाउँदै समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोलेको माओवादी केन्द्रको निष्कर्ष छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नियमित पत्रकार भेटघाटमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ, सहकार्य र सम्बन्धमा नयाँ ढोका खुलेकाले पूर्णरुपमा सफल भएको बताए । प्रवक्ता सापकोटाले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशका सम्बन्धमा नयाँ आयाम थपिएको छ । कोभिड–१९ सङ्क्रमणपछि हुन नसकेको उच्चस्तरीय भ्रमणको शृङ्खला जोडेको मात्र होइन, उठिरहेका विभिन्न प्रश्न, संशय निवारण भएको छ ।’

प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भएका सहमति र द्विपक्षीय सम्बन्ध विस्तारका साथै एकअर्काबीचको संवेदनशीलता र बाध्यता बुझ्ने पाटोबाटसमेत महत्वपूर्ण रहेको उनको भनाइ छ । नेपालको राष्ट्रिय योजना आयोग र जनवादी गणतन्त्र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीचको सहकार्यसम्बन्धी समझदारी आफैँमा महत्वपूर्ण रहेको प्रवक्ता सापकोटाले बताए ।

भ्रमणका अवसरमा भएका सहमति र समझदारीले दुई देशबीचको आर्थिक विकासको आधार तयार भएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले दुई आयोगबीच भएका सहमति विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

यस्तै नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको चिलिमे–केरुङ दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणमा सहकार्य गर्ने सहमति पनि उत्तिकै महत्वपूर्ण रहेको प्रवक्ता सापकोटाले उल्लेख गरे ।

कृषि, पशुपालन तथा औद्योगिक विकास तथा डिजिटल अर्थतन्त्रलगायतका विषयमा प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा उल्लेखनीय सहमति भएको भन्दै उनले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीस्तरमा भएका छलफल आफैँमा महत्वपूर्ण रहेको बताए ।

नेपाल र चीनबीच रहँदै आएको राजनीतिक, सांस्कृतिक एवम् जनस्तरको मैत्री सम्बन्धलाई प्रधानमन्त्री प्रचण्डको भ्रमणले नयाँ मार्ग प्रशस्त गरेको प्रवक्ता सापकोटाले बताए । चीनले विज्ञान तथा प्रविधिका क्षेत्रमा गरेको विकास नेपालका लागिसमेत महत्वपूर्ण रहेको र सहयोग गर्ने प्रतिबद्धता जनाएको तथा प्रविधि हस्तान्तरण गर्ने सहमति भएको पनि उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घको महासभामा विश्व समुदायलाई ध्यानाकर्षण गराउने गरी नेपालको मौलिक प्रकारको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि प्रधानमन्त्री प्रचण्डले सहयोगको आह्वान गर्नु आफैँमा उल्लेखनीय रहेको पनि प्रवक्ता सापकोटाले बताए ।

सो अवसरमा माओवादी केन्द्रका कोषाध्यक्ष तथा पार्टी कार्यालयका प्रमुख सचिव श्रीराम ढकाल र पार्टी प्रचार विभाग सचिव एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार  गोविन्द आचार्यले पार्टीको तीनमहिने रुपान्तरण, अध्यक्ष प्रचण्डको संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिता र चीन भ्रमणलगायतका समसामयिक विषयबारे उठ्न सक्ने प्रश्नका बारेमा जानकारी गराएका थिए ।