मलङ्गवाको ‘कर्फ्यू’ हट्यो, सदभाव र्यालीमा गृहमन्त्री सहभागी हुने
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा रातिको समयमा जारी गरिँदै आएको ‘कर्फ्यू’ आजदेखि पूर्णरूपमा हटाइएको छ ।
आज जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले चारबुँदे निर्णय गर्दै मलङ्गवामा जारी कर्फ्यू आदेशलाई आजदेखि पूर्णरूपमा निष्क्रिय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । प्रजिअ यादवका अनुसार मलङ्गवाको वातावरण समान्य भएपछि पूर्णरूपमा कर्फ्यू हटाइएको हो ।
यसअघि असोज ४ गते बिहीबार राति १० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । त्यसपछि असोज ८ गतेदेखि दिउँसोको कर्फ्यूलाई हटाइएको थियो भने राति ८ देखि बिहान ४ बजेसम्म कर्फ्यू आदेशलाई निरन्तरता दिँदै आएको थियो ।
सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले असोज ८ गतेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि राति ८ देखि बिहान ४ बजेसम्म जारी गरिँदै आएको कर्फ्यू आदेशलाई आजदेखि निष्क्रिय गर्ने, असोज १८ गतेका दिन उपप्रधानमन्त्री एवं गृहमन्त्रीको समेत उपस्थितिमा मलङ्गवामा बृहत् सदभाव र्याली आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी सदियौँदेखि विभिन्न धर्मावलम्बीबीच कायम रहेको सामाजिक सद्भाव एवं भाइचारा कायम राख्न सबै पक्षले आ–आफ्नो दायित्व निर्वाह गरी सहयोग गर्ने र कृष्णाजन्माष्टमी मूर्ति विसर्जनका क्रमदेखि गणेश पूजाको मूर्ति विसर्जनसम्म भएका घटनामा ढुङ्गामुढा एवं छुरा प्रहार लगायतबाट भएका भौतिक तथा घाइते समेतको सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने र पुगेको क्षतिको मूल्याङ्कन एवं अनुसन्धान यथाशीघ्र जिल्ला प्रहरी कार्यालयबाट सम्पन्न गर्ने निर्णय पनि भएको छ ।