
बागमती एमालेमा कस्ले मार्ला बाजी, चुनाव आज गर्ने तयारी
नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
अझै सहमतिको प्रयास जारी भएको भन्ने आग्रहका आधारमा आजसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । आज बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने उनले बताए ।
एक दिन मतदान रोकेर गरेको छलफलपछि अध्यक्षका तीन उम्मेदवार पछि हटेका छन् । वर्तमान अध्यक्ष केशव पाण्डेले बिहीबार विहानै उम्मेदवारी फिर्ता लिएर अध्यक्षका अर्का उम्मेदवार ढुंगेललाई समर्थन गरेका थिए ।
यस्तै साँझ सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएर अध्यक्षका अर्का उम्मेदवार दाहाललाई समर्थन गरेका छन् । अहिले सहमतिको प्रयास जारी रहेको बताइएको छ । यद्यपी अध्यक्षमा उम्मेदवारी दिएका ढुंगेल र दाहाल अडानबाट पछि हटेका छैनन् ।
