हिँडेर इन्द्रजात्रा अवलोकन गर्न गए राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल न्यूरोडबाट हिँडेरै इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पुगेका छन् ।
इन्द्रजात्राको मुख्य दिन राष्ट्रप्रमुखले अवलोकन गर्ने प्रचलन छ । सोही प्रचलन अनुसार आज राष्ट्रपति पौडेल बसन्तपुर गएका हुन् ।
शीतल निवासबाट गाडी चढेर न्युरोडसम्म आएका उनी त्यहाँबाट ओर्लिएर हिँड्दै बसन्तपुर पुगेको उनको सचिवालयका एकजना सदस्य खिला कार्कीले जानकारी दिए ।
ुप्रधानन्यायाधीश, सभामुख, सरकारका मन्त्रीहरु पनि हिँडेरै जात्रा अवलोकन गर्न बसन्तपुर प्रवेश गरेका छन् ।
इन्द्रजात्रा अवलोकन गर्न आज विदेशी पाहुनाहरु पनि बसन्तपुर पुगेका छन् । उपत्यकावासीहरुको पनि सो क्षेत्रमा घुइँचो छ ।
काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन निषेध
इन्द्रजात्राको अवधिमा आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।
यसैगरी भोलि असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ भने असोज १५ गते प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा पनि सवारी निषेध गरिएको छ ।
महानगरले काठमाडौँको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालाप हिँडेर सञ्चालन गरिने जनाएको छ ।
साथै महानगरपालिकाले तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन र त्यसमार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदलयात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्याउनसमेत सबैमा आग्रह गरेको छ ।