पर्यटक आकर्षित गर्न सगरमाथाबाट प्याराग्लाइडिङ गरिने

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर उचाइ माथिबाट प्याराग्लाइडिङ गरिने जानकारी दिएका हुन् ।

विश्व पर्यटन दिवसको अवसरमा आज काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा पर्यटनमन्त्री किरातीले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गराइने जानकारी दिए । त्यस सम्बन्धी नियमावली मन्त्रिपरिषद बैठकबाट पारित गर्ने र कार्यान्वयमा लैजाने उनले बताए ।

‘हामीले पर्यटक आकर्षित गर्नका लागि विभिन्न योजना बनाइरहेका छौँ । जसअन्तर्गत सगरमाथाको आठ हजार मिटर माथिको उचाइबाट डबल दस्तुर लिएर प्याराग्लाइडिङ गराउनका लागि नियमावली अन्तिम चरणमा छ । अब क्याबिनेटबाट पारित हुनेबित्तिकै लागू हुन्छ ,’ मन्त्री किरातीले भने ।

पर्यटनमन्त्री किरातीले नेपालको ऐन कानून र भएका पूर्वाधारको सदुपयोग र नयाँ पूर्वाधारको निर्माणलगायतका कुराहरूले चुनौती सिर्जना गरेको बताए ।