साफ च्याम्पियनसिप फुटबल : नेपाल पेनाल्टीमा चुक्दा भारत फाइनलमा
काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग ट्राइबेकरमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पेनाल्टीमा चुक्दा भारत ३–२ गोल अन्तरले विजयी भयो ।
टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए ।
त्यस्तै भारतका लागि अर्जुनसिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गरे । दिनेश सिंह सौवम र रिक्की हओबमको प्रहार विफल भएको थियो ।
खेलमा पहिलो अग्रता भने भारतले लिएको थियो । खेलको २६औँ मिनेटमा भारतका खेलाडी गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट गोल गरेका थिए । पहिलो हाफसम्म भारत १–० ले अघि रह्यो ।
त्यसपछि खेलको ७४ औं मिनेटमा नेपालका समीर तामाङले एक गोल फर्काउँदै खेललाई एक–एकको गोलको बराबरीमा ल्याएका थिए । उनले दीपक थापा मगरको असिस्टमा हेड गोल गरेका थिए ।
निर्धारित समयसम्म एक–एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । तर नेपाल पराजित भयो र प्रतियोगिताबाट बाहिरिएको छ ।
जितसँगै भारतले फाइनल खेलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ । फाइनल खेल यही शनिबार हुनेछ ।