यस्तो छ ईः अभियन्ता र काठमाडौं महानगरबीच कुरा नमिल्नुको कारण
साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः अभियन्ता र काठमाडौं महानगरपालीकाबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
वार्तामा सहभागी एक सदस्यका अनुसार निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भएपनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको हो ।
वार्तामा ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सञ्जय गिरी र राज महर्जनको सहभागी थियो भने महानगरपालिका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशीको सहभागिता थियो ।
काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्ने माग ई:ले राखेका छन् । यस्तै महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार अन्त्य गर्नुपर्ने लगायतका माग सहित ई:अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् ।
कसरी भयो वार्ता निष्कर्षविहीन
सहमति पारित गर्नका लागि ड्राफ्ट बालेनकहाँ पठाइयो । तर, बालेनले मुख्य बुँदा नै काटिदिए । बुँदा नम्बर ४ काटेर बालेनले सुरुको लाइन मात्र राखे– साविकमा फुटपाथ तथा सार्वजनिकस्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्ने छ ।
करिब ६ घण्टा लगाएर तयार पारेका सहमतिपत्रको चार नम्बर बुँदा काटेर बालेनले नयाँ निर्णय लेखेर त्यसमा हस्ताक्षर गर्न भनेर पठाए । तर, मुख्य बुँदा नै काटेपछि व्यापारीहरूले असमति जनाएर निस्किए ।
त्यसपछि वार्ता निष्कर्षविहीन बनेर टुंगियो ।
बालेनले महत्त्वपूर्ण बुँदा नै काटेर पठाएपछि वार्ता निष्कर्षविहीन बनेको ई: को भनाइ छ । “महानगरको तर्फबाट वार्तामा आउनुभएको प्रतिनिधिहरूलाई एकदमै धन्यवाद भन्न चाहन्छु । उहाँहरूको सबैसँग फेलेक्जिबल हुने भन्ने किसिमको भूमिका थियो । तर, त्यो सहमति पारितका लागि मेयरको टेबलमा पुग्यो । उहाँले महत्त्वपूर्ण बुँदा काटेर पठाउनुभयो । त्यो सहमतिपत्रमा भएको सबै कुरा काटेर कंकालमात्र बाँकी राखेर हस्ताक्षर गर्न भनेर हामीलाई पठाउनुभयो । तर, अनि निष्कर्षविहीन भयो,” ईः ले मूलखबरसँग भने ।