पोखराको मणिपाल अस्पतालमा महिलाको मृत्युपछि तनाव, डाक्टरमाथि हातपात
पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमा उपचाररत एक महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । उपचारमा लापरवाही गरेको भन्दै चिकित्सकमाथि हातपात गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङबाट उपचारका लागि बिहान मणिपालमा ल्याइएकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएको थियो । अस्पतालको लापरबाहीकै कारण महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले डा. अनिल शाहमाथि हातपात गरेका थिए । हातपात गर्नेलाई प्रहरीले अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको हो ।
अस्पतालमा अहिले पनि तनाव कायमै रहेको छ । स्थिति थप बिग्रिन नदिन अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कुनै घटना नघटोेस् भनेर सुरक्षा कडा पारिएको छ,’ कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले भने ।
लम्जुङकी सुकमायालाई आज बिहान साढे ७ बजे अफ्ठेरो सहसुस भएपछि उपचारका लागि मणिपाल अस्पताल ल्याइएको थियो । तर अस्पतालका चिकित्सकहरुले बिरामीको अवस्थाबारे यथार्थ जानकारी नदिइएको आरोप लगाएका छन् ।
आक्रोशित समूहले अस्पतालका सिसा फुटाएका छन् । ड्युटीमा रहेका डाक्टर माथि हातपात भएपछि चिकित्सक र स्वास्थ्यकर्मी पनि आक्रोशित भएका छन् ।
विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा अस्पताल प्रशासन र विरामीका आफन्तबीच वार्ता भइरहेको छ । तर सहमति जुटिसकेको छैन ।
यसअघि मकवानपुरको हेटौंडामा चिकित्सकमाथि हातपात भएपछि डाक्टरहरुले देशभरका अस्पतालसहितका स्वास्थ्य संस्थामा ओपीडी सेवा ठप्प पारेका थिए ।