
एसियाडको भब्य उद्घाटन, बेइजिङ ओलम्पिकमा जस्तै अद्भूत परिदृष्य (फोटो फिचर)
१९ औँ एसियाली खेलकुद प्रतियोगिता शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङ्चौ र आसपासका पाँच सहरमा हुने प्रतियोगिता चिनियाँ राष्ट्रपति सी चिनफीङले औपचारिक उद्घाटन गरेका हुन ।
सन २०१६ को जी-२० शिखर सम्मेलन आयोजना गर्ने सहरमा प्रतियोगिता आयोजना भएको हो । कमलको फूल आकारको रङ्गशालामा भएको उद्घाटन समारोहमा एसियाली ओलम्पिक परिषद् पदाधिकारीदेखि नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको थियो ।
सन २०१५ सेप्टेम्बर १६ मा चीन एसियाली खेलकुद आयोजनाको लागि छनौट भएको थियो । सन २०२२ सेप्टेम्बर १० देखी २५ सम्म हुने तय भएको प्रतियोगिता कोभिड-१९ ले गर्दा एक बर्स धकेलिएको थियो ।
प्रतियोगिता सेप्टेम्बर २३ बाट औपचारिक सुरु भएर अक्टोबर ८ सम्म जारी हुनेछ । प्रतियोगिता मा ४५ एसियाली देशका १२ हजार खेलाडी सहभागी छन् ।
भब्य उद्घाटन
दुई घन्टासम्म चलेको उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी निमा घर्ती मगरले बोकेका थिए।
उद्घाटन समारोह भव्य बनाउने क्रममा चीनले लाइटिङमार्फत उत्कृष्ट कौशल देखायो। ४५ देशका खेलाडीहरूको मार्चपासका लागि ४० मिनेट समय लागेको थियो। त्यसपछि कार्यक्रमको औपचारिक समारोह सुरू भयो।
औपचारिक उद्घाटनपछि भएको सांस्कृतिक प्रस्तुति करिब ४५ मिनेटसम्म चल्यो। जहाँ चीनको सांस्कृतिक सम्पदा, पूर्वी सौन्दर्य र आधुनिक प्रविधिको शक्तिलाई लाइटिङको अनुपम संयोजनमार्फत देखाइयो। क्विनताङ नदीको किनारमा रहेको ‘बिग लोटस’ लाई सेटमा उतारिएको थियो। समारोहमा सयौं कलाकारले आफ्नो प्रस्तुति दिँदा रंगशालामा उपस्थित हजारौं दर्शको भीड मन्त्रमुग्ध भएको थियो।
नांगो आँखाका लागि थ्रिडी स्टेज प्रयोग गरिँदा रंगशालाको स्टेज भव्य देखिन्थ्यो। जहाँ नदी र पुल समेत लाइटिङमार्फत देखाइएको थियो।
चीनको राष्ट्रिय झन्डा फहराउनुअघि एक गायकले ‘म तिमीलाई माया गर्छु, चाइना’ बोलको गीत गाएका थिए। पहेँलो र सेतो पहिरनमा सजिएका नर्तकहरूले ड्रम बजाएर खेलकुदलाई दृश्यमा स्वागत गरेका थिए। एसियाली खेलकुदका लागि पहिलो पटक एसियाली खेलकुदको टर्च डिजिटल र रियल टाइम दुवैमा प्रज्वलित गरिएको थियो।
एसियाली देशहरूको खेलकुदको कुम्भमेला एसियाली खेलकुदमा ४० खेलमा ४५ देशका खेलाडीले भाग लिँदैछन्। यसपटकको एसियाली खेलकुदमा १२ हजार बढी खेलाडी सहभागी हुने छन्।
पेरिसमा हुने ओलम्पिक-२०२४, टोकियोमा भएको ओलम्पिक-२०२० मा पनि यति खेलाडीले प्रतिस्पर्धा गरेका थिएनन्।
