सुन काण्ड जाँचबुझ गर्न उच्चस्तरीय छानबिनबारे गृहमन्त्रीसँग एमालेको चासो
सुन काण्ड जाँचबुझ गर्न उच्चस्तरीय छानबिन समिति बनाउनेबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेका छन्। गृह मन्त्रालयमा भएको छलफलमा एमाले, माओवादी केन्द्रका प्रमुख सचेतक र सचेतकहरू सहभागी थिए।
सरकार, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत ७ राजनीतिक दलबीच असोज ५ गते सुन काण्डहरू छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो।
गत भदौ ६ मा उक्त सहमति भएपछि प्रमुख प्रतिपक्षी दल एमाले साउन १० गतेदेखि गर्दै आएको संसद्को अवरोध खुलाउन तयार भएको थियो।
साउन २ गते त्रिभुवन विमानस्थलबाहिर समातिएको ६० किलो बढी र इलेक्ट्रिक चुरोटमा लुकाएर तस्करी भएको सुनमा सरकारकै संलग्नता देखिएको भन्दै एमालेले उच्चस्तरीय जाँचबुझ समितिको माग गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकेर अभियोजन गरेपछि जाँचबुझ समिति बनाउने गरी भदौ ६ गते सहमति भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेकाले अहिले मन्त्रिपरिषद्को बैठक बस्दैन। तत्काल उच्चस्तरीय छानबिन समिति बनाउने सम्भावना नरहेको एक मन्त्रीले जानकारी दिए।
सरकारले संसद्लाई समेत जानकारी गराएको विषय कार्यान्वयन नगरे बेइमान ठहरिने एमालेले बताउँदै आएको छ।