सिंगारिएको हाङजाउ, के छन् एसपालीको एसियाडका खास विशेषता (फोटो फिचर)

मूलखबर संवाददाता
काठमाडौं

एसियाली खेलकुदको महाकुम्भ ‘एसियाड’ आजदेखि चीनमा सुरु हुँदैछ। पूर्वी चीनको जेझाङस्थित हाङजाउमा आज हुने उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुँदै छन्।

‘एसियन गेम्स भिलेज’ खुला गरेसँगै चीनमा चहलपहल बढेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। प्रतियोगितामा ४० खेलबाट ४८३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

 प्रतियोगिताका लागि चीन पुगेका खेलाडी, टिम अफिसियल्स, टेक्निकल अफिसियल्स र पत्रकार गरी २० हजार बढी गेम्स भिलेजमा बसेका छन्। आयोजकले यसलाई ओलम्पिकभन्दा ठूलो भएको दाबी गरेको छ। दुई वर्षअघि जापान ओलम्पिकमा १२ हजार ४१७ जना थिए।

प्रतियोगिताको प्रचार विभागका उपनिर्देशक सु बिनले खेल ‘मितव्ययी’ रहेको बताएका छन्। प्रतियोगितामा एसियाका ४५ वटै ओलम्पिक कमिटीले रजिस्टर गरिसकेका छन्। सेप्टेम्बर २३ बाट अक्टोबर ८ सम्म हुने प्रतियोगितामा ५६ वटा भेन्युमा खेल हुनेछन्। यीमध्ये ४४ वटा भेन्यु हालै रेनोभेट गरिएका या निर्माण गरिएका छन्।

‘तीमध्ये अधिकांश खेलपछि व्यावसायिक प्रयोगमा राखिने छ,’ बिनले भनेका छन्। हाङजाउ एसिया कप आयोजना गर्ने तेस्रो सहर हो। यसअघि सन् २०१० मा ग्वान्जाओमा र १९९० मा बेङजिङमा यो प्रतियोगिता आयोजना भएको थियो।

‘हामीले खर्च गरेको रकम तुलनात्मक रूपमा कम छ। सम्भव भएसम्म धेरै लागत कटौती गर्न नयाँ निर्माण गर्नभन्दा पनि पहिले अवस्थित स्थान पुनर्निर्माण गर्ने प्रयास गर्‍यौं,’ बिनलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।

प्रतियोगिताको कुल लागत १०.१९ बिलियन युआन भएको जनाइएको छ। यो एक खर्ब ८५ अर्बमाथि हुनेछ। यो प्रतियोगिताले ४ खर्ब १४ करोड युआन अर्थात साडे ७५ खर्ब कुल गार्हस्थ उत्पादनमा सहयोग पुर्‍याउने अनुमान यस महिनाको सुरुमा हुवाचुङ सेक्युरिटीजको अनुसन्धानले देखाएको छ।