प्रचण्डको चीन भ्रमणः सीसँग २ पटक संवाद, हाङ्चौदेखि तिब्बतसम्मको यात्रा
नेपाल र चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सात दिने भ्रमणको औपचारिक घोषणा गरेका छन्। बिहीबार परराष्ट्रमन्त्रामार्फत विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा गरेको थियो ।
नेपालको परराष्ट्र मन्त्रालयले भ्रमण सूची सार्वजनिक गरे लगत्तै बिहीबार चीनको परराष्ट्र मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा त्यहाँकी प्रवक्ता माओ निङले पनि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुन लागेको विषयमा जानकारी दिएकी हुन् ।
‘प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ देखि ३० सेप्टेम्बरसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले हाङझाउमा १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ’, प्रवक्ता निङले भनेकी थिइन् ।
त्यसपछि चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीका प्रतिनिधिले ‘प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे थप जानकारी दिन, चीनले नेपालसँगको अहिलेको सम्बन्धलाई कसरी हेरिरहेको छ भन्नेबारे जानकारी दिन र प्रचण्डको यो भ्रमणबाट चीनले के हासिल गर्ने आशा राखेको छ ?,’ भनेर प्रश्न राखेका थिए ।
सीसीटीभीका प्रतिनिधिले राखेको जिज्ञासाको जवाफमा विदेशमन्त्रालयकी प्रवक्ता माओले थप स्पष्ट पारेकी थिइन् ।
‘प्रधानमन्त्री प्रचण्डले धेरैपटक चीन भ्रमण गरी नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण योगदान गर्नु भएको छ । आगामी भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङले उहाँसँग भेट गर्नुहुनेछ । प्रधानमन्त्री ली छ्याङ र अध्यक्ष झाओ लेजीले क्रमशः उहाँसँग वार्ता र भेटघाट गर्ने कार्यक्रम छ’, उनले भनिन्, ‘दुवै पक्षले परम्परागत मित्रतालाई प्रगाढ बनाउने, पारस्परिक लाभकारी सहयोग विस्तार गर्ने र पारस्परिक हितका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा गहिरो विचार आदानप्रदान गर्नुहुनेछ ।’
प्रवक्ता माओले चीन र नेपाल परम्परागत मित्र, छिमेकी र रणनीतिक साझेदार रहेको भन्दै ६८ वर्षअघि दुई देशबीच स्थापना भएको कूटनीतिक सम्बन्ध अन्तर्राष्ट्रिय वा क्षेत्रीय परिस्थिति जस्तोसुकै हुँदा पनि सँधै सुदृढ र स्थिर रहेको बताइन् ।
‘हाम्रा दुई देशले आ–आफ्ना मूल हितका मुद्दाहरूमा एकअर्कालाई समझदारी र समर्थन गरेका छन् । जसले यस सम्बन्धलाई विभिन्न आकारका देशहरूबीच समानता र पारस्परकि सहयोगको राम्रो उदाहरण बनाएको छ’, उनले भनिन्, ‘हालैका वर्षहरूमा दुई देशले बारम्बार उच्चस्तरीय भ्रमण आदानप्रदान गरेका छन्, आर्थिक र सांस्कृतिक क्षेत्रमा सञ्चार र सहयोगलाई बढाएका छन् । साथै, अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा घनिष्ठ हिसाबले समन्वय र सहयोग कायम गरेका छन् ।’
उनले चीन नेपालसँग रणनीतिक साझेदारी र बीआरआईमा सहकार्य गर्न चाहेको थप स्पष्ट पारिन् । ‘पारस्परिक विश्वासलाई गहिरो बनाउन, व्यावहारिक सहयोग विस्तार गर्न, उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई अगाडि बढाउन र रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पु¥याउन नेपालसँग काम गर्न चीन सँधै तयार छ’, चीनको विदेश मन्त्रालयकी प्रवक्ताले भनेकी छन् ।
प्रचण्ड सी दुई पटक भेटवार्ता
चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच दुईपटक भेटवार्ता हुने भएको छ। यो भेटवार्ता एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको सहर हाङ्जाओमा हुन लागेको हो।
चिनियाँ सहर हाङ्जाओमा आयोजित १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको यही असोज ६ गते हुने उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट सीधै चीन पुग्दै छन्। हाल प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा छन्।
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री प्रचण्डको भेट हाङ्जाओमा हुनेछ। त्यसपछि प्रचण्ड चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने छन्। बेइजिङमा उनले चिनियाँ समकक्षी ली छिन, राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
मन्त्रालयका अनुसार प्रचण्डले बेइजिङका अलावा चोङकिङ सहर र तिब्बतको ल्हासा पनि भ्रमण गर्नेछन्। चोङकिङ महानगरले कृषि र उद्योगको क्षेत्रमा गरेको विकास र प्रगतिको उनले अवलोकन गर्नेछन्।
१३ असोजमा उनी ल्हासाबाट काठमाडौँ आइपुग्नेछन्।
प्रधानमन्त्रीको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहनेछन् ।