
पार्टी एकताको आह्वानसहित बाबुरामको पार्टीलाई माओवादीको पत्र
नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीलाई एकताको सन्दर्भमा पत्राचार गरेको छ । सो पार्टीले समाजवादीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै पार्टी एकताको प्रयासस्वरुप पत्राचार गरेको हो ।
पत्रमा नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टभित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने उल्लेख गरिएको छ ।
‘दुबै पक्ष बीचको बार्ताको क्रममा पार्टी एकताको लागि पार्टीको नाम सम्बन्धमा छलफल चलिरहेको छ । यसै क्रममा यही भदौ २५ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको यस पार्टीको केन्द्रीय कार्यालयको बैठकमा पार्टी एकता सम्बन्धमा गम्भिरताका साथ छलफल भयो र अन्तमा पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्ट मित्र रहेको माओवादी केन्द्र बारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ’, माओवादीले पठाएको पत्रमा भनिएको छ ।
पत्रमा केही समय अगाडिदेखि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको बीचमा पार्टी एकताको लागि दुवै पक्ष बीच वार्ता टोली बनाई सम्बाद हुँदै आइरहेको पनि उल्लेख गरिएको छ ।
एउटै पार्टी बनाउने लक्ष्यका साथ गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुबै पक्षका उम्मेदवारहरुले एउटै चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडा लिएर निर्वाचनको अभियानमा सहकार्य गरिएको पनि उल्लेख गरिएको छ ।
समाजवादीले नाम परिवर्तनको विषय उठाउँदै आएको थियो ।
